चन्द्रपुर,४ असोज । रौतहटको वृन्दावन नगरपालिकाका मेयर विनोद प्रसाद कुर्मी तनावमा परेका छन् । वृन्दावन नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मीनाथ बासुदेव प्रावीका प्रधानाध्यापक रम्बु प्रसाद यादवले आफूले शिक्षा शाखा प्रमुख मार्फत मेयर कुर्मी र प्रमुख कार्यकारी अधिकृत खिमबहादुर भुजेललई दिवा खाजाको रकमबाट ५ लाख रुपैयाँ घुस दिएको बताएका थिए । प्रधानाध्यापक रम्बु यादवले आफूले घुस दिएको बताइरहेका बेला खिचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि तराई एक्सप्रेस दैनिकले सो विषयमा समाचार प्रकाशन गरेको थियो ।
सोही समाचारको विषयलाई लिएर ३ गते बिहीबार वृन्दावन नगरपालिकाका मेयर कुर्मीले एक खेद पत्र प्रकाशित गरेका छन् । उनले तराई एक्सप्रेस दैनिक र तराई पोस्ट साप्ताहिकले आफ्नो नगरपालिकाको विषयमा केही व्यक्तिको पछि लागेर कपोकल्पित समाचार प्रकाशन गरेको आरोप लगाएका छन् । तराई एक्सप्रेस दैनिक उनलाई चुनौती दिन चाहन्छ । हामीले कपोकल्पित समाचार प्रकाशन नगरेर भिडियोमा आधारित भएर समाचार प्रकाशन गरेका हौँ । सोही विषयलाई लिएर मेयर कुर्मीले केही मान्छेहरूको पछि लागि तराई एक्सप्रेस दैनिकले आफू विरुद्ध समाचार प्रकाशन गरेको भन्दै खेदपत्र प्रकाशन गरेका छन् ।
मेयर कुर्मी र प्रमुख कार्यकारी अधिकृत भुजेलले एक वर्षको एक मुस्ट रकम दिवा खाजाको चेक काट्न लगाएर त्यसबाट कमिसन लिने गरेको वृन्दावन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सिकेन्द्र पटेलले आरोप लगाउँदै आएका छन् । भ्रष्ट स्वभावका खिम बहादुर भुजेल पटकपटक वृन्दावन नगरपालिका खोज्दै आउनुको प्रमुख कारण सो नगरपालिकाबाट अनियमित तरिकाले पैसा असुल्नु रहेको समेत वडा अध्यक्ष पटेलको आरोप छ ।
तराई एक्सप्रेस दैनिकले भिडियोका आधारमा र वडा अध्यक्ष पटेलको भनाइका आधारमा समाचार तयार पारेका हो । सो विद्यालयमा मात्र नभएर वृन्दावन नगरभरि रहेका सामुदायिक विद्यालयहरूको दिवा खाजाको रकमबाट मेयर कुर्मी र प्रमुख कार्यकारी अधिकृत खिमबहादुर भुजुलले रकम असुल्ने गरेको भन्दै चर्को आलोचना हुँदै आएको विषयमा तराई एक्सप्रेसले समाचार तयार पारेको हो । समाचारमा सत्यता नभए नियमनकारी निकाय प्रेस काउन्सिल र अदालतमा जान तराई एक्सप्रेस दैनिक मेयर कुर्मीलाई चुनौती दिन चाहन्छ ।
नियमनकारी निकायमा चित्त नबुझे जाने व्यवस्था हुँदाहुँदै नगरपालिकाको लेटर प्याडमा कुर्मीले खेद प्रकट गरेर मन शान्त गर्ने काम मात्र गरेको हामीले अनुमान गरेका छौं ।
वृन्दावन नगरपालिकामा दिवा खाजामा मात्र नभएर अन्य शीर्षकमा समेत व्यापक रूपमा आर्थिक अनियमितता भइरहेको छ ।
त्यसका बिरुद्ध समेत तराई एक्सप्रेसले नियमित रुपमा समाचार प्रकाशन गर्ने हामी मेयर कुर्मीलाई जानकारी गराउन चाहान्छौं ।








