चन्द्रपुर,६ असोज । वृन्दावन नगरपालिकामा पर्ने एक विद्यालयका प्रधानाध्यापकका कारण यतिबेला खैला बैला मचिएको छ । ती हेडमास्टरले पहिला नगरपालिकाका मेयर प्रमुख कार्यकारी अधिकृत र शिक्षा शाखा प्रमुखले आफूसँग ५ लाख घुस खाएको बताएका थिए ।
वृन्दावन नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मीनाथ बासुदेव प्राथमिक विद्यालयका प्रधानाध्यापक रम्बु यादवले दिवा खाजा खुवाएबापत आफूले नगरपालिकाबाट भुक्तानी लिएको १० लाख मध्यबाट ५ लाख रुपैयाँ नगरपालिकाका मेयर विनोद कुर्मी, प्रमुख कार्यकारी अधिकृत खिमबहादुर भुजेललाई शिक्षा शाखा प्रमुख मार्फत ५ लाख घुस दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
सोही भिडियोका आधारमा तराई एक्सप्रेस दैनिकले समाचार प्रकाशन गरेपछि वृन्दावन नगरपालिकाका प्रमुखले नगरपालिकाकै लेटर प्याडमा कपोकल्पित समाचार भन्दै खेद व्यक्त गरेका थिए ।
मेयर र प्रमुख कार्यकारी अधिकृतले आफूसँग रु.५ लाख रकम लिएको बताउँदै गरेको अवस्थामा खिचिएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा राईछाइ भएको थियो ।
सो भिडियो सामाजिक सञ्जालमा राईछाई हुनु र तराई एक्सप्रेस दैनिकले समाचार प्रकाशन गरेपछि फेरि प्रधानाध्यापक यादवको अर्को भिडियो सार्वजनिक भएको छ । पछिल्लो पटक सार्वजनिक भएको प्रधानाध्यापक रम्बु यादवको भिडियोमा आफूलाई वृन्दावन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सीकेन्द्र पटेलले नै घुस रकम माग्ने गरेको बताएका छन् । उनले मेयर प्रमुख कार्यकारी अधिकृत र शिक्षा शाखा प्रमुखले घुस नमागेको र आफूले नदिएको बरु वडा अध्यक्षले नै आफूसँग घुस रकम मागेको भन्दै एउटा भिडियो रेकर्ड सार्वजनिक भएको छ ।
प्रधानाध्यापक यादवले तिनै वडा अध्यक्ष पटेलको सामुन्ने मेयर प्रमुख कार्यकारी अधिकृत र शिक्षा शाखा प्रमुखले आफूसँग दिवा खाजाको रकम भुक्तानी लिँदा ५ लाख घुस दिएको बताएका थिए । पछिल्लो भिडियोमा उनले आफूले बोलेको कुरा वडा अध्यक्षका ड्राइभरले मोबाइल मार्फत भिडियो बनाइरहेको कुरा आफूले पछि सार्वजनिक भएपछि मात्र थाहा पाएको भन्दै पहिलो भिडियोमा आफूले बोलेका कुरा गलत भएको र पछि अहिले यो भिडियोमा बोलेको कुरा चाहिँ सत्य हो भनेका छन् ।
वृन्दावन नगरपालिकामा दिवा खाजामा भएको अनियमितताको विषयमा छानबिन हुनुपर्ने माग उठिरहेका बेला प्रधानाध्यापक यादव भने घरी वडा अध्यक्षले घुस माग्यो त घरी मेयर र मेयरका मान्छेले घुस माग्यो भन्दै भिडियो बनाउन लगाउँदै गरिरहेका छन् ।
स्थानीयले भने प्रधानाध्यापक रम्भु यादवलाई नै कानुनी दायरामा ल्याएर अनुसन्धान अगाडि बढाउनुपर्ने र वृन्दावन नगरपालिकामा हुने गरेको दिवा खाजाको अनियमितताको छानबिन गर्नुपर्नेमा जोड दिइरहेका छन् ।








