रौतहट । नेकपा एमाले रौतहटका इन्चार्ज अजयकुमार गुप्ताले राहत र उद्धारका लागि सम्पूर्ण पार्टी पंक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । रौतहट जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य, निर्वाचित जनप्रतिनिधि तथा सम्पूर्ण पार्टी पंक्तिलाई बाढी पहिरोमा परेकाहरूको उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
बाढी पहिरोको उच्च जोखिममा रहेको रौतहटका विभिन्न पालिकाहरूमा हुने विपतमा नेकपा एमालेको सम्पूर्ण पंक्ति एकबद्ध भएर लाग्न समेत रौतहट जिल्ला इन्चार्ज गुप्ताले आग्रह गरेका छन् ।
तीनदिन देखि अबिरल वर्षाको कारण रौतहटको पूर्विभेग स्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा ठूलो बाढी आएको छ । बाढीको पानी अहिले बागमती र बकैयामा ओभरफ्लो सुरु भएको छ।
लालबकैया नदीको बाढीले कटहरिया नगरपालिका ४ हर्साहा र मौलापुर १ मर्यादपुर गाउँ छेउमा नदीको बाँध कटान सुरु गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् ।
त्यसैगरी जिल्ला स्थित चाँदी, धनसार, तरहारी, गुजरा लगायत नदी खोलामा पनि पानीको स्तर बढ्दै गएको छ। कुलेखानी ड्याम आज बिहान खोलिएपछि बागमती नदीमा अझै ठूलो बाढी आउने भएकाले नागरिकलाई सुरक्षित स्थानमा रहन सुरक्षाकर्मीले ठाउँ ठाउँमा माईकिङ गरिरहेको छ ।
त्यस्तै बाढी र डुबान कटानको जोखिम बाट जोगाउन जिल्लाको चन्द्रपुर, परोहा नगरपालिका लगायत कैयौँ स्थानमा ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ रेग्मीले बताएका छन् । रेग्मीले अविरल वर्षाका र बाढीको कारण जिल्लाको ६ वटा पालिका रेड जोनमा रहेको बताएका छन्।
जिल्लाको पूर्विभेग राजदेवि नगरपालिका ,दुर्गाभगवति गाउपालिका, बौधिमाई, मौलापुर, राजपुर र कटहरिया नगरपालिका रेड जोनमा रहेको उनले जानकारी दिएका छन्। अबिरल बर्षाको पानीले ईलाका प्रहरी कार्यालय कटहरिया जलमग्न भएको छ ।
बिहीवारदेखि परेको अबिरल वर्षाको कारण जिल्लाका सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ । दैनिक ज्यालादारी ,गर्ने खेतमा काम गर्ने मजदुर, दैनिक ससाना ब्यापार गर्ने ब्यवसायी अबिरल वर्षाको कारण ठूलो कठिनाईमा परेका छन्।








