चाइना मिडिया ग्रुप (सिएमजी) ले तयार पारेका संक्षिप्त वृत्तचित्रहरु मधेश प्रदेशस्थित विद्यालयमा प्रदर्शन गरिएको छ।
नेपाल–चीन सांस्कृतिक तथा परम्परागत मित्रतालाई उजागर गर्ने उद्देश्यले बुधबार बारा जिल्लाको निजगढस्थित श्री जनकल्याण आधारभूत विद्यालयमा छोटा वृत्तचित्र प्रदर्शन गरिएको हो ।
चाइना मिडिया ग्रुप (सीएमजी) ले विभिन्न अवधिमा नेपाल – चीन मैत्री सम्बन्ध झल्किने केही वृत्तचित्रहरु चीनमा छायाङ्कन गरेको हो भने केही एआईको सहयोगमा तयार पारेको थियो ।
यी वृत्तचित्रमा नेपालको सीमा क्षेत्रमा अवस्थित तिब्बत अर्थात् सिचाङ स्वशासित क्षेत्रका तिब्बती भिक्षुहरूको जीवनशैली, तिब्बती पठारभूमिमा कृषि उत्पादनका लागि प्रयुक्त विज्ञान प्रविधि, तिब्बती आली प्रिफेक्चर र नेपालका हुम्लालगायत सीमावर्ती जिल्लाबीचको सीमा व्यापार, एआई प्रविधिको सहयोगमा निर्मित नेपाल–चीन सम्पदा संवाद र चिनियाँ नव वर्ष गालासम्बन्धी मनोरञ्जनात्मक सामग्रीहरू समावेश छन्।
निजगढ निवासी स्थानीय शिक्षिका शोभाखड्काले भिडियो बालबालिकाका लागि हेर्न लायक रहेको बताउनुभयो । विशेषगरी गर्मी मौसममा कसरी जोगिने, नेपाल चीनबीचको मित्रता कस्तो रहेछ भन्ने बुझ्न छोटा भिडियोले लामो जानकारी पस्किएको खड्काको भनाई थियो। उहाँले भन्नुभयो, “भिडियोहरु बच्चाहरुको सिकाइका लागि अर्थपूर्ण छन्। यस्ता कार्यक्रम भविष्यमा पनि हेर्न पाइने आशा छ।”
छोटा छोटा भिडियो सामग्री मार्फत् बालबालिकाका लागि बुझाई र सिकाई सहज हुने भएकाले यस्तो कार्यक्रम डिजाइन गरिएको बेइजिङबाट आएका सीएमजी नेपाली सेवाका पत्रकार लक्ष्मी लम्सालले बताउनुभयो । उहाँका अनुसार विज्ञान प्रविधिको प्रयोग गरी एआईद्वारा निर्मित छोटा भिडियोले नेपाल चीन सम्बन्धबारे सजिलोसँग बुझ्न सकिनेछ l
नेपाल चीन सम्बन्धमा इतिहासदेखि वर्तमानसम्म बुद्धभद्र, सुआन चाङ, भृकुटी, फा सियान, अरनिकोलगायत पूर्वजहरुको अतुलनीय योगदान छ। वर्तमानमा पनि मूर्त अमूर्त सांस्कृतिक र जनस्तरीय आदानप्रदानले नेपालले छिमेकी मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम राखेको छ।
विद्यालयका सहायक प्रधानाध्यापक सोमबहादुर कार्कीका अनुसार सिएमजीका भिडियो अवधारणाबाट चेतनामूलक भिडियो प्रदर्शनी सकारात्मक छ। सोही विद्यालयकी शिक्षिका हेमकुमारी खड्काले नेपाल र चीनबीचको मित्रता निकै गहिरो रहेको थाहा पाएको बताउनुभयो l उहाँले भन्नुभयो, ‘छिमेकी भएर पनि भाषिक कठिनाईले चीनबारे थाहा पाउन गाह्रो थियो । सिएमजीले नेपाली भाषामा बनाएको वृत्तचित्र हेरेर धेरै कुरा थाहा पाइयो।’
प्रदर्शित भिडियोबाट रंगीन चीनका रमणीय दृष्य देख्न पाएको छात्रछात्राहरुले बताए । वृत्तचित्र अवलोकनमा स-साना बालबालिकादेखि ६, ७, ८ कक्षामा अध्ययनरत किशोर किशोरी, विद्यालयका शिक्षक शिक्षिका लगायत थिए ।
सिएमजी नेपाली सेवाले यस प्रकारका संक्षिप्त वृत्तचित्र काठमाडौंको स्कूलमा पनि देखाएको थियो।