रौतहट, असार १५।
‘धान दिवस’ तथा ‘राष्ट्रीय धान दिवस’ को अवसरमा चन्द्रपुर नगरपालिकामा विशेष कार्यक्रमका साथ किसानसँगै मनाइएको छ। नगरपालिकाको कृषि शाखाको आयोजनामा चन्द्रपुर २ स्थित जुडिबेला क्षेत्रमा आज धान दिवस उल्लासपूर्वक मनाइएको हो।

कार्यक्रमको सुरुवात चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय कुमार काफ्लेले स्थानीय किसानको खेतमै रोपाइँ गर्दै गर्नुभयो। उहाँले धानको बिउ फालेर परम्परागत शैलीमा रोपाइँ गर्दै कृषिमा आत्मनिर्भरता र उत्पादन वृद्धिका लागि सबै तहको सहकार्य आवश्यक रहेको बताउनुभयो।

“कृषि आत्मनिर्भर नगर बनाउने हाम्रो दीर्घकालीन योजना हो,” मेयर काफ्लेले भन्नुभयो, “धान दिवस जस्तो परम्परागत तर अत्यन्त महत्त्वपूर्ण दिनले हामीलाई कृषिप्रति सम्मान र जिम्मेवारी दुबै सम्झाउने काम गर्छ।”

महिलाहरूले खेतमै रोपाइँ गर्दै असारको रोपाइँ गीत गाएका थिए भने युवाहरूले पानीमा हाँसीखुशी रमाइलो गरेका थिए।

धान दिवस सन् २००५ देखि नेपालमा असार १५ गते राष्ट्रिय पर्वका रूपमा मनाइँदै आएको हो। देशभर धान खेतीमा आबद्ध कृषकहरूलाई सम्मान गर्न, रोपाइँको महत्त्वबारे जनचेतना फैलाउन र कृषि उत्पादन बढाउने उद्देश्यका साथ यो दिवस मनाइन्छ।

चन्द्रपुर नगरपालिकाले पनि यो अवसरमा कृषिमा केन्द्रित योजना अगाडि बढाउने प्रतिबद्धता जनाएको छ। नगरप्रमुख काफ्लेले आगामी दिनमा कृषकहरूलाई मल, बीउ, सिँचाइ, तालिम लगायतका कार्यक्रममार्फत सहयोग गर्ने घोषणा गर्नुभयो।