रौतहट — शुक्रबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा अनुसार रौतहट जिल्लाबाट सहभागी परीक्षार्थीहरूमध्ये ७१.२० प्रतिशत उत्तीर्ण भएका छन्।
जिल्लाबाट कुल ९ हजार २७३ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ६ हजार ६०२ जना सफल भएका छन् भने बाँकी २ हजार ६७१ जना परीक्षार्थीले ‘एनजी’ ग्रेड ल्याउँदै पूरक परीक्षा दिनुपर्ने भएको छ। जिल्ला शिक्षा समन्वय इकाइ, गौरका अनुसार उत्तीर्ण प्रतिशत अघिल्ला वर्षहरूसँग तुलनात्मक रुपमा सन्तोषजनक रहेको छ।
नतिजा विवरण अनुसार:
- ६११ जनाले A+ (उत्कृष्ट)
- २ हजार ३२१ जनाले A (अति राम्रो)
- २ हजार ७१० जनाले B+ (राम्रो)
- ९३६ जनाले B (सन्तोषजनक)
- २४ जनाले C+ (औसत)
- २ हजार ६७१ जनाले NG (ग्रेड प्राप्त नगरेको)
यसैबीच, जिल्लाको मध्यवर्ती क्षेत्र गरुडा नगरपालिकाको जिंगडिया स्थित नेपाल प्रहरी विद्यालयकी दुई छात्रा मायुसी कुमारी साह (सिम्बल नम्बर ०३५०५३३८आर) र स्मृति जयसवाल (सिम्बल नम्बर ०३५०५३६५एस) ले सर्वोत्कृष्ट ४.०० जीपीए ल्याएर विद्यालय तथा जिल्लाको नाम उज्यालो बनाएका छन्।
विद्यालयका प्रधानाध्यापक रामशरण रिजालका अनुसार यी छात्राहरूको मेहनत, अनुशासन र समर्पणले यस्तो नतिजा सम्भव भएको हो।








