चन्द्रपुर,२० भदौ ।
पछिल्लो समय रौतहट जिल्लाका विभिन्न साझेदारी वन क्षेत्रमा काठ चोरी र तस्करी व्यापक रूपमा बढेको स्थानीयवासीहरूले बताएका छन्। विशेष गरेर रंगपुर साझेदारी वन उपभोक्ता समिति र जंगलसहिया साझेदारी वन उपभोक्ता समिति अन्तर्गतका वन क्षेत्रमा यो समस्या भयावह रूपमा देखिएको छ ।
दाउराको नाममा सालका गोलिया काटिँदै
स्थानीयका अनुसार हाल दाउराको नाममा काँचो सालका रुख काटेर गोलिया वनभित्रै चिरान गरिन्छ र त्यसलाई चिरान मिलसम्म पुर्याएर बिक्री गर्ने प्रवृत्ति बढेको छ । “सानो तिन हातको सालको गोलिया चिरान मिलमा लगेपछि चार–पाँच हजार रुपैयाँ सजिलै आउँछ। यही प्रलोभनका कारण वनमा अवैध कटानी र बिक्री मौलाएको हो,” स्थानीय विनोद चौधरीले बताए ।
वन कर्मचारी र हेरालु कै मिलेमतो
काठ चोरी तस्करीमा वन कर्मचारी तथा साझेदारी वनका हेरालु स्वयं संलग्न रहेको स्थानीयवासीहरूको आरोप छ । उनीहरूका अनुसार कर्मचारी र तस्करबीच लेनदेन नमिले मात्र कहिलेकाहीँ गाडी बरामद हुन्छ । तर बरामद हुने गाडीका चालक वा तस्कर भने प्रायः फरार हुने गरेको छ, जसले संलग्नता अझ प्रष्ट पार्छ ।
चारपांग्रे गाडीमार्फत तस्करी
हालसालै मात्र वन क्षेत्रबाट दाउरा र गोलिया बोक्ने चारपांग्रे गाडी धमाधम बरामद भइरहेका छन् । तर चालक र मालिक सजिलै भाग्न सक्ने अवस्था देखिनु स्वयं नियन्त्रक निकायकै कमजोरीको सूचक हो । “बरामद गाडी भन्दा पनि तस्करीमा संलग्न मुख्य गिरोहलाई पक्राउ गरेर कारबाही नगरेसम्म यो अपराध रोकिँदैन,” स्थानीयवासीले भने ।
नियन्त्रणमा सरकारी निकाय मौन
रौतहटको वन क्षेत्रबाट दिनहुँजसो काठ कटानी भइरहे पनि वन कार्यालयले आवश्यक प्रभावकारी कदम नचालेको भन्दै सर्वसाधारण आक्रोशित भएका छन् । साझेदारी वन उपभोक्ता समितिहरू स्थानीयको सहकार्यमा सञ्चालन हुने भए पनि व्यवस्थापन तहमा हुने लापरबाहीले गर्दा वन संरक्षणको उद्देश्य नै संकटमा परेको देखिन्छ ।
स्थानीयवासीहरूले तत्कालै वन क्षेत्रमा निगरानी बढाउन, काठ चोरीमा संलग्न गिरोहलाई पक्राउ गरी कानूनी कारबाही गर्न र कर्मचारीहरूको संलग्नताबारे छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । वन संरक्षण तथा व्यवस्थापन सरकारकै प्राथमिकता भए पनि रौतहटमा काठ चोरी नियन्त्रणमा लापरबाही हुँदा प्राकृतिक स्रोतको निरन्तर ह्रास हुँदै गएको भन्दै सरोकारवाला पक्षले चासो देखाएका छन् ।








