चन्द्रपुर,२० भदौ ।
रौतहटको चन्द्रपुर नगरपालिकाले बालश्रममुक्त नगरपालिका घोषणा गर्ने अभियानलाई तीव्र बनाएको दाबी गरे पनि यसको प्रभाव भने देखिएको छैन । स्थानीय स्तरमा आवाज उठ्न थालेको छ कि, बालश्रमकै नाममा कयौँ गैरसरकारी संस्थाहरूले रोटी सेक्ने काम मात्र गरेका छन् ।
होटल तथा ग्यारेजमा बालश्रमबारे गोष्ठी, सेमिनार हुने गरे पनि त्यही होटलमै बालबालिकाहरू श्रम गरिरहेको भेटिन्छ । बेलाबेलामा अनुगमन गर्ने दिखावटी अभ्यास भए पनि बालश्रम न्यूनीकरणका लागि कुनै ठोस कदम चालिएको छैन ।
नगर उपप्रमुख जयमाला चौधरीले आर्थिक वर्ष २०८२÷०८३ भित्र चन्द्रपुरलाई बालश्रममुक्त नगरपालिका घोषणा गर्ने नीति रहेको बताइन । तर, अनुगमनका क्रममा नै विभिन्न होटल र ग्यारेजमा १८ वर्ष मुनिका बालबालिका काममा संलग्न भेटिनु, यो अभियान औपचारिकतामै सीमित भएको प्रमाण बनेको छ ।
नगरस्तरीय बाल अधिकार समिति सदस्य तथा मनोसामाजिक परामर्शकर्ता सिर्जना तिमल्सिनाले समेत बारम्बार अनुगमन हुँदा पनि होटल तथा ग्यारेजमा दैनिक १८ घण्टासम्म बालबालिकालाई काममा लगाइएको अवस्था रहेको स्वीकार गरेकीछिन् ।
त्यसैगरी, सडकमा बालबालिकालाई माग्न पठाउने अभिभावकलाई सचेत गराउने भनिए पनि व्यवहारमा परिवर्तन नदेखिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
चन्द्रपुर नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालले छोरी संस्थाको सहकार्यमा बालबालिकालाई विद्यालय जान ड्रेस, कापी, कलम दिने काम भइरहेको दाबी गरेकी छन् । तर, विद्यालय जानुपर्ने उमेरका धेरै बालबालिका अझै श्रममा संलग्न रहनु, त्यस्ता प्रयास पनि पर्याप्त नभएको प्रमाणित गर्छ ।
नगरपालिकाले प्रत्येक वडामा बालअधिकार समिति गठन गरेर सक्रिय बनाएको भनिए पनि यथार्थमा समितिहरूले अपेक्षित भूमिका निर्वाह गर्न नसकेको देखिन्छ ।
यसरी, बालश्रम अन्त्य गर्ने नाममा चलाइएका अभियान तथा कार्यक्रमहरू देखावटी र नतिजाविहीन बनेका छन् । चन्द्रपुर नगरपालिका र विभिन्न संस्थाहरूको प्रयास औपचारिक घोषणामै सीमित हुने हो वा वास्तवमै बालमैत्री नगरपालिका बन्ने हो भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।








