पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पथलैया–अम्लेखगञ्ज सडकखण्डमा पछिल्लो दुई महिनामा बाघको आक्रमणबाट तीनजनाको ज्यान गएको छ। मृतकमध्ये जीतपुरसिमरा–२२ का चन्द्रबहादुर बोलाङ्ग र कृष्णकुमार शर्मा जंगलमा घाँस–दाउरा गर्ने क्रममा तथा रमेश कार्की राति सडक किनारमा आक्रमणमा परेका हुन्।

स्थानीयले बाघको त्रास बढ्दै गएको भन्दै नियन्त्रण गर्न माग गरेका छन्। निकुञ्जले भने वन्यजन्तुको बासस्थानमा मान्छे पुग्दा जम्काभेटका कारण क्षति हुने भन्दै मानिस स्वयं सतर्क हुनुपर्ने बताएको छ।

निकुञ्ज प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले “मानव–वन्यजन्तु द्वन्द्व समाधान स्थानीय तहदेखि प्रदेश सरकारले समेत साझा जिम्मेवारी लिनुपर्ने” बताएका छन्। उनका अनुसार, पर्सा निकुञ्जमा सन् २०१८ मा १८ वटा पाटे बाघ रहेकामा सन् २०२२ को गणनामा यो संख्या ४१ पुगेको छ।