बारा,३ माघ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा शनिबार बिहान गुडिरहेको इभी माइक्रोबसमा आगलागी भएको छ। आगलागीबाट माइक्रोबस पूर्ण रूपमा जलेर नष्ट भए पनि सवार सबै यात्रु सकुशल रहेका छन्।
पोखराबाट काकरभिट्टातर्फ जाँदै गरेको नेपाल यातायात प्रालिको प्र. १–०१–००१ ख ४७२० नम्बरको फोटोन कम्पनीको इभी माइक्रोबसमा बिहान करिब ३ः३० बजे अचानक आगो लागेको हो। घटना जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित सहजनाथ मन्दिर जाने बाटो नजिक भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।
माइक्रोबसमा १४ जना यात्रु सवार थिए। सवारीसाधनबाट अचानक आगो सल्किएको देखेपछि चालकले सूझबूझ अपनाउँदै तत्काल गाडी सडक छेउमा रोकी सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए। आगलागीबाट माइक्रोबस पूर्ण रूपमा जलेर नष्ट भए पनि यात्रुहरू तथा उनीहरूका सामानमा कुनै क्षति नभएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले राजमार्गमा अलपत्र परेका यात्रुहरूको उद्धार गरी वैकल्पिक सवारीसाधनको व्यवस्था गर्दै उनीहरूलाई गन्तव्यतर्फ पठाएको थियो।
प्रहरी निरीक्षक लामिछानेका अनुसार प्रारम्भिक अनुसन्धानबाट माइक्रोबसमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।