रौतहट, ३ माघ । दुर्गा भगवती गाउँपालिका अन्तर्गत कछुअवा पुलमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ र ५ को सीमामा पर्ने कछुअवा पुलबाट बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल शनिबार साँझ करिब साढे ५ बजेको समयमा अनियन्त्रित भई पुलबाट तल खसेको स्थानीयले बताएका छन्।
पुलको पूर्वतर्फ दुई जना खसेको देखेपछि स्थानीयवासीले तत्काल इलाका प्रहरी कार्यालय गंगापिपरालाई जानकारी गराएका थिए। प्रहरी टोलीले दुवै जनालाई उद्धार गरी उपचारका लागि पिपरा स्थित बागमती सेन्ट्रल डायग्नोष्टिक सेन्टर पुर्याएको थियो। तर, प्रहरीका अनुसार एक जनाको दुर्घटनास्थलमै मृत्यु भइसकेको पुष्टि भएको छ भने अर्का गम्भीर घाइतेलाई थप उपचारका लागि एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल गौर पठाइएको छ।
दुर्घटनामा संलग्न दुवै व्यक्तिको हालसम्म पहिचान खुलेको छैन। उनीहरू सीमापारि भारतका नागरिक हुन सक्ने प्रहरीको आशंका छ। उनीहरूले बोकेको मोबाइलमा भारतीय सिम रहेको तर मोबाइल लक भएकाले हालसम्म ठेगाना पत्ता लाग्न नसकेको जनाइएको छ। दुवै जना करिब ३० वर्षभन्दा माथिका जस्तो देखिने प्रहरीले जनाएको छ।








