गौर,१४ माघ ।
रौतहट क्षेत्र नम्बर १ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। उनले यसपटक कुनै पनि हालतमा जित निकाल्ने दाबी गर्दै मैदानमा आक्रामक रूपमा उत्रिएका छन्।
सोही क्षेत्रमा नेपाली कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अनिल कुमार झा पनि चुनावी प्रतिस्पर्धामा छन्। गौर नगरपालिकाका पूर्व नगर प्रमुखसमेत रहेका गुप्ताका लागि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ। अघिल्लो निर्वाचनमा उनी माधवकुमार नेपालसँग पराजित भएका थिए। तर यसपटक भने उनले विगतको नतिजा उल्ट्याउने दृढ संकल्पका साथ चुनावी अभियान अघि बढाएका छन्।
गुप्ताले आफ्नो जित सुनिश्चित गर्न रौतहट क्षेत्र नम्बर १ का मतदाताको समर्थन आफ्नो पक्षमा रहेको दाबी गरेका छन्। “मैले पार्टीका कार्यकर्ता मात्र होइन, आम सर्वसाधारणसँगको भेटघाटलाई पनि तीव्र बनाएको छु। जनताको घरदैलोमै पुगेर उनीहरूको समस्या र अपेक्षा बुझ्दै छु,” गुप्ताले बताए।
प्रजातन्त्र स्थापनापछि रौतहट क्षेत्र नम्बर १ लाई माधवकुमार नेपालको ‘किल्ला’का रूपमा लिइँदै आएको छ। सो क्षेत्रबाट माधवकुमार नेपाल एकपटक मात्र पराजित भएका थिए भने अन्य अधिकांश निर्वाचनमा उनले लगातार जित हासिल गर्दै आएका छन्। यही कारणले यो क्षेत्र राजनीतिक रूपमा निकै चासोका साथ हेरिँदै आएको छ।
तर यसपटकको चुनावी माहोल फरक रहेको गुप्ताको भनाइ छ। “जनतामा परिवर्तनको चाहना छ। विकास, रोजगारी र सुशासनका मुद्दामा जनता सचेत भएका छन्। यसपटक मेरो जितलाई कसैले रोक्न सक्दैन,” उनले दाबी गरे।
रौतहट क्षेत्र नम्बर १ मा नेकपा एमालेसँगै नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो चुनावी गतिविधिलाई तीव्र बनाएका छन्। बहुपक्षीय प्रतिस्पर्धाका कारण यो क्षेत्र जिल्लाकै सबैभन्दा चासोको केन्द्र बनेको छ।
अब चुनाव नजिकिँदै जाँदा रौतहट–१ मा कसले बाजी मार्छ भन्ने विषयले राजनीतिक वृत्तमा थप उत्सुकता बढाएको छ।