रौतहट१५ माघ — नेकपा एमाले रौतहटको आज बसेको जिल्ला कमिटी बैठकले पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा पाँच जनालाई कारबाही गर्ने निर्णय गरेको छ। बैठकले एक वडा अध्यक्ष र एक वडा सदस्यलाई पदमै नरहने गरी कारबाही गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने ऐतिहासिक निर्णयसमेत गरेको छ।
गरुडा स्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य असु सिंह, उनका श्रीमान् तथा केही समय पहिला भएको नेकपा एमालेको महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित बबन सिंह, युवा सङ्घ नेपाल रौतहटका जिल्ला संयोजक मुन्ना यादव, गरुडा नगरपालिका वडा नम्बर–५ का वडा अध्यक्ष रामबाबु चौधरी तथा चन्द्रपुर नगरपालिका वडा नम्बर–४ की वडा सदस्य प्रेमकुमारी तिमल्सिनालाई कारबाहीको सिफारिस गर्ने निर्णय गरेको हो।
विशेषगरी वडा अध्यक्ष चौधरी र वडा सदस्य तिमल्सिनालाई पदबाट हटाउने गरी निर्वाचन आयोगमा सिफारिस पठाउने निर्णय भएको नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहालले जानकारी दिनुभयो।
सचिव दाहालका अनुसार उनीहरूले पार्टी हितविपरीत गतिविधि गरेको पुष्टि भएपछि सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको हो। पार्टी अनुशासन र संगठनात्मक मर्यादाविपरीत काम गर्ने जो कोहीलाई पनि छुट नदिइने स्पष्ट सन्देशसहित यो निर्णय गरिएको उहाँको भनाइ छ।
एमाले रौतहटको यो निर्णयले जिल्लाको राजनीतिक वृत्तमा तरंग ल्याएको छ भने आगामी दिनमा थप कारबाही र संगठन सुदृढीकरणतर्फ पार्टी अझ कडा रूपमा अगाडि बढ्ने संकेतसमेत दिएको छ।








