रौतहट क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वसांसद देवप्रसाद तिमल्सिनाले आगामी चुनावलाई लक्षित गर्दै क्षेत्रभरि आफ्नो भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन्। निर्धारित कार्यक्रम फागुन ४ गतेबाट औपचारिक रूपमा सुरु हुने भए पनि उनले विभिन्न टोल–बस्तीमा पुगेर सर्वसाधारणसँग प्रत्यक्ष संवाद थालिसकेका छन्।
दुई कार्यकालसम्म क्षेत्र नं. ४ बाट सांसद भइसकेका तिमल्सिनाले भेटघाटका क्रममा मतदातासँग आफूले अधुरो छोडिएका विकास निर्माण तथा योजनाहरू पूरा गर्न फेरि अवसर दिन आग्रह गर्दै आएका छन्। शनिबार मात्रै उनले क्षेत्रका थुप्रै टोलहरूमा पुगेर स्थानीय, कार्यकर्ता र सर्वसाधारणसँग विस्तृत कुराकानी गरेका थिए।
भेटघाटपछि जनतामा देखिएको उत्साहले आफू पनि थप उत्साहित भएको तिमल्सिनाको भनाइ छ। “मतदाता तथा पार्टीका कार्यकर्ताहरू उत्साहका साथ मेरो पक्षमा उभिनुभएको छ। त्यसले मलाई अझै ऊर्जावान बनाएको छ,” उनले तराई एक्सप्रेससँग भने।
तिमल्सिनाले आफ्नो अभियान आगामी दिनमा झनै व्यापक रूपमा सञ्चालन गर्ने तयारी गरेको बताउँदै मतदातासँगको प्रत्यक्ष संवाद नै चुनावी तयारीको मुख्य आधार भएको उल्लेख गरेका छन्। क्षेत्रभरि बिस्तारै चुनावी माहोल तताउन थालेसँगै उनका घरदैलो कार्यक्रमले पनि गति लिन थालेको देखिन्छ।