रौतहट, २५ माघ । जिल्लाको गैंडाटार सबडिभिजन वन कार्यालय अन्तर्गतको वन क्षेत्रमा पछिल्लो समय बहुमूल्य खयर जातका रुखहरू अन्धाधुन्ध रूपमा कटान भइरहेको पाइएको छ। स्थानीय बासिन्दाका अनुसार रातारात वन फँडानी हुँदै गए पनि सम्बन्धित निकाय भने आँखामा पट्टी बाँधेर बसेको देखिन्छ।
जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका नेता तथा कर्मचारीहरूको ध्यान चुनावी गतिविधितर्फ केन्द्रित भएको मौका छोपेर संगठित रूपमा खयर कटान भइरहेको स्थानीयको गम्भीर आरोप छ। खयरजस्ता बहुमूल्य काठ डमरु, मादललगायत विभिन्न संरचना निर्माणका नाममा व्यापारिक प्रयोजनका लागि कटान भइरहेको उनीहरूको दाबी छ।
स्थानीयका अनुसार वन क्षेत्रबाट काठ ओसारपसार खुला रूपमा भइरहेको भए पनि सबडिभिजन र डिभिजन वन कार्यालयले कुनै चासो नदेखाएको उनीहरूको गुनासो छ। “वन तस्करी भइरहँदा पनि वन कार्यालय मुखदर्शक बनेको छ,” एक स्थानीयले आक्रोश पोख्दै भने।
वन संरक्षण र जैविक विविधताको संरक्षण गर्नुपर्ने निकाय स्वयं मौन बस्दा रौतहटको वन सम्पदा गम्भीर संकटमा परेको स्थानीयको भनाइ छ। यदि तत्काल कडाइका साथ अनुगमन र कारबाही नभए खयरसहित अन्य बहुमूल्य जातका रुखसमेत समाप्त हुने खतरा बढेको उनीहरू चेतावनी दिन्छन्।
यस विषयमा सम्बन्धित वन कार्यालयका अधिकारीहरूसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। तर स्थानीयवासीहरूले वन तस्करीमा संलग्न समूह र सम्भावित संरक्षणकर्तामाथि छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।