रौतहट२५ माघ — जिल्लामा भइरहेको चुनावी गतिविधिका क्रममा धेरै राजनीतिक दलहरूले बालबालिकालाई घरदैलो र प्रचार–प्रसारमा सहभागी गराउँदै आएको भेटिएको छ। विशेषगरी गडुरा नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको घरदैलो अभियानमा धेरैजसो बालबालिकाको उपस्थितिले यस विषयलाई थप चर्चामा ल्याएको हो। यद्यपि, स्थानीयहरूका अनुसार बालबालिकाको प्रयोग गर्ने प्रवृत्ति केवल एक दलमा मात्रै सीमित छैन। जिल्लाका करिब सबै दलहरूले आफ्ना भेला, जुलुस तथा घरदैलोमा जानाजान बालबालिकालाई सामेल गराउने गरेको आरोप छ।
निर्वाचन आचारसंहिताले मत सङ्कलन, प्रचार–प्रसार वा कुनै पनि राजनीतिक कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको छ। तर, रौतहटमा यसबारे सम्बद्ध निकायले आवश्यक निगरानी र कारबाही नगरेको भन्दै सर्वसाधारणले असन्तुष्टि जनाउँदै आएका छन्। स्थानीयहरूका अनुसार घरदैलोमा बढी भीड देखाउन तथा वातावरण उत्साहजनक देखाउन राजनीतिक दलहरूले बालबालिकालाई चकलेट, खाजा वा अन्य प्रलोभनका सामग्री दिएर सहभागी गराउने गर्छन्।
जिल्ला निर्वाचन कार्यालयले यस विषयमा पर्याप्त ध्यान नपुर्‍याएको भन्ने आलोचना बढ्दै गएको छ। स्थानीयवासीहरूले बारम्बार सचेत गराए पनि बालबालिका प्रयोग गर्ने प्रवृत्ति रोकिएको छैन। “आचारसंहिता कसैका लागि मात्र होइन, सबैका लागि समान हो। तर यहाँ राजनीतिक फाइदाका लागि बालबालिकालाई अघि धकेल्ने काम खुलेआम भइरहेको छ,” एक स्थानीय अभिभावकले बताए।
विशेषज्ञहरूको भनाइमा बालबालिकालाई चुनावी गतिविधिमा सहभागी गराउनु कानुनी मात्र होइन, नैतिक रूपमा पनि गलत मानिन्छ। यसले उनीहरूको शारीरिक तथा मानसिक सुरक्षामा प्रत्यक्ष असर पार्न सक्छ।
सर्वसाधारण र अभिभावकहरूले अबका दिनमा राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्ने, जिल्ला निर्वाचन कार्यालयले कडाइका साथ निगरानी र कारबाही अघि बढाउनुपर्ने माग गरेका छन्।