रौतहट,२८ फागुन ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित टोलमा दुई महिलासहित ६ जनामाथि भएको सामूहिक आक्रमण घटनामा संलग्न आठ जनाविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता गरिएको छ ।
पीडित बिर्जा राम चमारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सीताराम रिजालको निर्देशनपछि इलाका प्रहरी कार्यालय विजयपुर–लक्ष्मिनियामा बुधबार आठ जनाविरुद्ध उक्त मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार दलित परिवारमाथि सामूहिक रूपमा आक्रमण गरेको आरोपमा पसिन्द्र यादवलाई पक्राउ गरिएको छ । घटनामा संलग्न अन्य आरोपीहरू भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव भने फरार रहेका छन् । फरार अभियुक्तहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका पसिन्द्र यादवलाई इलाका प्रहरी कार्यालय विजयपुरको हिरासतमा राखिएको छ ।
यस घटनापछि स्थानीय बासिन्दाले सुरुवाती चरणमा प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको आरोप लगाएका थिए । उनीहरूले उल्टै पीडित पक्षलाई नै दुःख दिइएको दाबी गरेका छन्। विशेषगरी इलाका प्रहरी कार्यालय विजयपुर–लक्ष्मिनियाका इन्स्पेक्टर सुरेन्द्र यादवमाथि जातीय प्रभावमा परेर पीडितलाई न्याय नदिएको आरोप समेत स्थानीयले लगाएका थिए ।
गत फागुन १९ गते होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि उक्त घटना भएको थियो। घटनापछि एक सातासम्म कुनै कारबाही नभएपछि पीडित पक्षले मंगलबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेका थिए ।
घटनाको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटको ध्यानाकर्षण भएको थियो । त्यसपछि एसपी रिजालको निर्देशनमा पीडित बिर्जा राम चमारले दिएको उजुरीका आधारमा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।








