सर्लाही,२८ फागुन ।
सर्लाहीको सीमावर्ती सखुअवा क्षेत्रका चोर नाकाहरूबाट ठूलो परिमाणमा कवाड सामग्री तथा अन्य सामान भारततर्फ तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ ।
स्थानीय स्रोतका अनुसार फलाम, ब्याट्री लगायतका कवाड सामग्री नियमित रूपमा भारततर्फ तस्करी भइरहेको पाइएको छ । उक्त कारोबारमा कृष्ण यादव, ललन चौधरी र रामु चौधरी लगायतका व्यक्तिहरू सक्रिय रहेको बताइन्छ । उनीहरूले सखुअवा क्षेत्रका विभिन्न चोर नाकाहरू प्रयोग गरी सामान भारततर्फ ओसारपसार गर्दै आएको स्रोतको दाबी छ ।
यसका साथै सखुअवा, सग्रामपुर र त्रिभुवननगर आसपासका अन्य सीमावर्ती नाकाबाट पनि अवैध रूपमा राजस्व छलीका सामानहरू तीव्र गतिमा ओसारपसार भइरहेको स्थानीय स्रोतले जनाएको छ । स्रोतका अनुसार सन्तोष भण्डारीसहित ‘चश्मावाली’ नामले चिनिने एक महिला समेत यस कारोबारमा संलग्न रहेको बताइन्छ । उनीहरूले नेपालबाट अखरोट, स्याउ र फर्सीको बीउ भारततर्फ पठाउने तथा भारतबाट कपडा, दैनिक उपभोग्य खाद्यान्न र सवारी साधनका स्पेयर पाट्र्स नेपाल भित्र्याउने गरेको आरोप छ ।
स्थानीय बासिन्दाले यस गतिविधिमा सुरक्षाकर्मीको मिलेमतो रहेको आरोप समेत लगाएका छन् । उनीहरूका अनुसार सखुअवा प्रहरी चौकी तथा सीमा क्षेत्रमा तैनाथ बिओपी प्रमुखको संरक्षणमा तस्करीको कारोबार हुँदै आएको दाबी गरिएको छ । सुरक्षा निकायका केही पदाधिकारीले मासिक रकम लिएर तस्करीलाई सहज बनाइदिएको आरोप पनि स्थानीयले लगाएका छन् ।
केही दिनअघि सशस्त्र प्रहरी सहायक निरीक्षक सुरेश महतो र ‘चश्मावाली’ नामले चिनिने महिला तस्करबीचको अडियो संवाद सार्वजनिक भएको थियो । उक्त अडियोमा घुमुवा असई महतोले आफू रहँदासम्म त्रिभुवननगर नाकास्थित पुलबाट तस्करी गर्न दिने विषयमा कुराकानी भएको सुनिन्छ । उक्त अडियोसहितको समाचार सार्वजनिक भएपछि पनि सीमावर्ती क्षेत्रमा तस्करी गतिविधि नरोकिएको स्रोतको दाबी छ ।
यद्यपि यस विषयमा सम्बन्धित सुरक्षा निकायबाट आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन । स्थानीयले सीमावर्ती क्षेत्रमा बढ्दै गएको तस्करी नियन्त्रणका लागि कडा निगरानी र प्रभावकारी कारबाही आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार सुरक्षा संयन्त्र पूर्ण रूपमा इमान्दार नभएसम्म यस्ता अवैध कारोबार नियन्त्रण गर्न चुनौतीपूर्ण रहनेछ ।