काठमाडौँ,२८ फागुन ।
नेपाल आयल निगम ले बजारमा फैलिएको ग्यास अभावको हल्लाबीच उपभोक्तालाई नआत्तिन आग्रह गर्दै ग्यास वितरणलाई सहज बनाउन विशेष व्यवस्था गर्ने निर्णय गरेको छ।
निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्ला दुई–तीन महिनादेखि काठमाडौँ उपत्यकामा एलपी ग्यासको माग बढेको उल्लेख गर्दै मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा अन्तर्राष्ट्रिय रूपमा असर परेको जनाएको छ।
निगमका अनुसार नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने मुलुक भारत मा समेत उपभोक्ताले ग्यास पाउन समस्या भएको समाचार सार्वजनिक भएपछि नेपालमा आवश्यकताभन्दा बढी ग्यास किनेर भण्डारण गर्ने प्रवृत्ति बढेको देखिएको छ।
हालको अवस्थालाई ध्यानमा राख्दै निगमले ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गर्ने जनाएको छ। निगमका अनुसार २०८२ मंसिर २६ गतेदेखि अर्को निर्णय नभएसम्म ७.१ केजी एलपी ग्यास भरिएको सिलिन्डर प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री–वितरण गर्ने निर्णय गरिएको छ।
निगमले आम उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गर्दै अनावश्यक रूपमा भण्डारण नगर्न पनि अनुरोध गरेको छ।








