रौतहट, ९ चैत ।
रौतहटको कटहरिया नगरपालिका–८ पिप्रापोखरियामा सापटीको हिसाब माग्दा देवरको ‘न्याय’ बाँसको लौरोबाट भएको छ । परिणाम– आमा–छोरी अस्पताल, चौपाया मर्नासन्न !
नातामा पर्ने देवर छोटेलाल यादवसँग केही महिनाअघि दिएको १ लाख २० हजार रुपैयाँ फिर्ता माग्न जाँदा ४५ वर्षीया भागमणी देवीले यस्तो ‘उपहार’ पाइन्, जसले गाउँ नै तातेको छ ।
घटना आइतबारको हो । ई–सेवाबाट १० हजार रुपैयाँ लिन आएका छोटेलालसँग भागमणीले बाँकी १ लाख १० हजार मागेपछि कुरा बिग्रियो । त्यसपछि ‘हिसाब किताब’ सिध्याउन छोटेलालले बाँसको लौरो समाते र सुरु भयो कुटपिटको ‘महाभारत’ ।
लौरो वर्षाबाट भागमणी मात्र होइन, उनकी १० वर्षीया छोरी रबिता कुमारी पनि जोगिन सकिनन् । नाबालिका रबिताको देब्रे हात नै भाँचिएको छ भने भागमणीको हातमा गम्भीर चोट लागेको छ । शरीरभरि निलडाम–कुटाइको प्रमाण जताततै देखिन्छ ।
यति मात्रै होइन, आक्रोशित देवरले घरका भैंसी र बाख्रालाई समेत कुटपिट गरी मर्नासन्न बनाएको आरोप छ । सापटीको झगडा चौपायासम्म पुगेपछि घटना झन् क्रूर बनेको छ ।
घाइते आमा–छोरीलाई भागमणीका बुवा झगरु यादवले कटहरिया बजारस्थित निजी अस्पतालमा पुर्याएका थिए । दुवैको प्लास्टरसहित उपचार भइरहेको छ ।
घटना बाहिरिएसँगै अर्को ‘खेल’ पनि सुरु भएको छ । पीडितका अनुसार गाउँकै एक जनप्रतिनिधिबाट “उजुरी नगर्नु, गाउँमै मिलाउँछु” भन्दै दबाब र धम्की आइरहेको छ ।
उता, इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलले घटनाको पुष्टि गर्दै अनुसन्धान भइरहेको बताएका छन् ।
सामान्य सापटीको विवादले हिंसाको यस्तो रूप लिँदा गाउँमा कानुनभन्दा ‘लौरोको शासन’ हावी भएको संकेत देखिएको छ । अब हेर्न बाँकी छ—पीडितले न्याय पाउँछन् कि गाउँकै दबाबले फेरि पनि सत्य दबिन्छ ?








