रौतहट,११ चैत – नेपाली किसानले उत्पादन गरेको अण्डाले बजार नपाइरहेका बेला सीमावर्ती जिल्लामा भारतीय अण्डाको खुलेआम घुसपैठले स्थिति झनै जटिल बनेको छ। पछिल्लो समय रौतहटका विभिन्न नाकाबाट भन्सार छलेर भित्रिएको भारतीय सेतो अण्डाले स्थानीय बजार नै कब्जा गर्न थालेको छ।
सिमानाका आसपास मात्र होइन, करिब ४२ किलोमिटर भित्र पर्ने चन्द्रनिगाहपुरसम्म भारतीय अण्डा छ्यापछ्याप्ती देखिन थालेपछि स्थानीय उत्पादन ओझेलमा परेको छ। सस्तो मूल्यमा पाइने भारतीय अण्डाले उपभोक्तालाई आकर्षित गरे पनि यसले नेपाली कुखुरा किसानको ढाड भाँच्ने अवस्था सिर्जना गरेको छ।
स्थानीय अण्डा उत्पादक किसान दिनेश मैनालीका अनुसार, “हामीले उत्पादन गरेको अण्डाले उचित मूल्य पाउन छाडिसक्यो। बजारमा भारतीय अण्डा सस्तोमा आउँदा हाम्रो लागत पनि उठ्न मुस्किल भएको छ।”
राजस्वमा दोहोरो चोट
भारतीय अण्डा अवैध रूपमा भित्रिँदा राज्यले पाउने भन्सार राजस्वसमेत गुमिरहेको छ। वैधानिक आयात भएमा राज्यको ढुकुटीमा जाने रकम अहिले तस्करको खल्तीमा पुगिरहेको देखिन्छ। यसले न केवल अर्थतन्त्रमा असर पारिरहेको छ, बरु अवैध व्यापारलाई प्रोत्साहनसमेत गरिरहेको छ।
सुरक्षाकर्मीमै मिलेमतोको आशंका
स्थानीयस्तरमा सुरक्षाकर्मीकै मिलेमतोमा अण्डा भित्रिने गरेको आरोपसमेत उठ्न थालेको छ। सीमामा कडाइ नगर्दा तस्करी मौलाएको र त्यसको प्रत्यक्ष मार किसानले खेप्नुपरेको गुनासो बढ्दो छ।
कुखुरा किसान संकटमा
नेपालमा कुखुरा पालन व्यवसायमा ठूलो लगानी भइसकेको छ। तर, यस्तै अवैध आयात जारी रहे किसान व्यवसाय छोड्न बाध्य हुने जोखिम बढ्दै गएको छ। उत्पादन लागत बढ्दो, बजार मूल्य घट्दो—यसले किसानलाई आर्थिक संकटतर्फ धकेलिरहेको छ।
सरकार मौन, किसान आक्रोशित
सम्बन्धित निकायले समयमै ध्यान नदिए नेपाली उत्पादन पूर्ण रूपमा विस्थापित हुने खतरा रहेको किसानहरूको चेतावनी छ। उनीहरू भन्छन्—“हामीलाई संरक्षण छैन भने उत्पादन किन गर्ने?
भारतीय अण्डाको अवैध प्रवेशले एकातिर राज्यलाई राजस्व घाटा भइरहेको छ भने अर्कोतर्फ नेपाली किसानको भविष्य संकटमा परेको छ। सीमामा कडाइ, बजार अनुगमन र किसान संरक्षणबिना यो समस्या झन् गहिरिने निश्चित








