जनकपुर,१ साउन ।
उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवले बाढी तथा पहिरोले भत्काएको घर सरकारले बनाउने बताएका छन् ।
मंगलवार जनकपुरस्थित नेकपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले बाढीले दिएको पीडाप्रति सरकार गम्भिर रहेको बताए ।
उनले भने, विपद्ले घर भत्काएमा सरकारले बनाउने एक पटक निर्णय गरिसकेको छ । त्यसैले फेरी निर्णय गर्नु परेन । मन्त्री यादवले अहिले तत्कालै हरेक दल र सरकार मिलेर पीडितहरु समक्ष राहत पुर्याउन जरुरी देखिएको बताए ।
सिरहामा पहुचवालाले मात्र राहत पाएको गुनासो सुनिएकोले त्यस्तो हुन नदिन सबै पक्षसँग उनले आग्रह समेत गरे ।
उनले सरकारको राहतले मात्र नपुग्दै भन्दै संघसंस्थाहरुलाई समेत राहत बाँड्न अपिल गरे । बाढी आएलगत्तै आफ्नो निर्वाचन क्षेत्र धनुषा आइपुगेका मन्त्री यादव विभिन्न बाँध, बाढी र पीडितहरुको घर घरमा पुगेर निरीक्षण गरेका छन्। उनले भने, धनुषाभन्दा सिरहाको अवस्था भयावह छ । कमला बाध भत्किने अझै खतरा रहेको देखे कमला बाध (तटबन्ध) मजबुत गर्नुपर्ने आवश्यक देखिएको उनको भनाइ छ । सञ्चारकर्मीको जिज्ञासामा मन्त्री यादवले चुरे दोहन विषयमा अहिले केहि नबोल्ने बताए ।
क्रसर डनको विषयमा पनि उनले मुख खोलेनन् । सञ्चारकर्मीले सरकार, माफिया र डनलाई संरक्षण गरेको हो भन्ने जिज्ञासामा उनले भने, डन र माफियालाई न सरकार संरक्षण दिएको छ, न डराएको छ ।