चन्द्रपुर,२ मंसिर / रौतहट र सर्लाही जिल्लामा पक्की पुल तथा सडक निर्माण सम्बन्धी १ दर्जन योजना सम्पन्न भएको सडक डिभिजन कार्यालय, रौतहटले बताएको छ । रू. ८५ करोडको लागतमा रौतहट र सर्लाहीमा आर्थिक वर्ष २०७५ र ७६ मा पुल तथा पक्की सडक निर्माण भएको कार्यालयका प्रमुख दारोगा प्रसादले बताए । साथै कतिपय योजनाका काम पूरा गर्ने प्रक्रिया अगाडि बढेको छ । कार्यालयबाट प्राप्त विवरण अनुसार रौतहट, सर्लाही तथा बारा जिल्लालाई जोड्ने सडक तथा पुलसमेत निर्माण गरिएको छ । साथै स्थानीयस्तरमा बाटोको ग्राभेलिङ गर्ने, माटो पुर्ने, सडक पेन्टिङ, पक्की नाला निर्माण कालोपत्रको कार्य सम्पन्न भएको छ । उक्त निर्माणका कारणले एक जिल्लाबाट अर्को जिल्लामा जान सजिलो भएको बलरा नगरपालिका वडा नं ४ सर्लाहीका वडाध्यक्ष केशव झाले बताए ।