जनकपुर,१६ मंसिर / रामजानकी विवाहपञ्चमीको बेला पाकेटमाराविरुद्ध धनुषा प्रहरीले विशेष अभियान चलाएको छ । पाकेटमारी गर्दै हिडेका ५० जनाभन्दा बढी पाकेटमारलाई प्रहरीले पक्राउ गरेको छ ।
विवाहपञ्चमी महोत्सव महोत्सवमा दर्शनार्थीहको भीडभाडको मौका छोपी पाकेटमारी गर्ने ५० जनाभन्दा बढीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पाकेटमारी गर्ने अधिकांस भारतीय र महिला रहेको धनुषाका प्रहरी नायव उपरीक्षक सन्तु जयसवारले जानकारी दिए । उनका अनुसार भीडभाडको मौका छोपेर भारतबाट ठूलो संख्यामा पाकेटमार आएका छन् । जानकी मन्दिर, रंगभूमी मैदान बाह्रविघा, राममन्दिर लगायतका भीडभाड हुने क्षेत्रबाट उनीहरु पक्राउ परेको प्रहरी नायव उपरीक्षक जयसवारले बताए । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिइ केहीलाई जिल्ला प्रहरी कार्यालयको थुनुवाकक्षमा राखिएको छ भने नटेकाहरुलाई तरापट्टी र जटही प्रहरी चौकीमा राखिएको छ । यस्तै तिर्थालुहरुबाट अत्याधिक रकम अशुली गर्ने एकजना होटेल सञ्चालकलाई समेत नियन्त्रणमा लिइएको उनले बताए । ठगी गर्ने होटलवाला पक्राउ भारतबाट आएका श्रद्धालुहरुलाई जनकपुरको रामानन्दचोकस्थित होटल सिटि प्यालेस गेष्ट हाउस एण्ड फेमिली रेष्टुरेन्टमा एक रातका लागि एउटा कोठाको ५ हजार ५ सय रुपैया सम्म लिएको पाइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सूचना पाएलगत्तै स्थलगत अनुगमन गर्दै होटल सञ्चालकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको जनाइएको छ ।