ओम प्रकाश यादव,
गरुडा,१९ माघ /
उद्योगीबाट ठगिएका रौतहटका उखु किसानहरु अब उखु उत्पाद संघ रौतहटबाट समेत ठगिएको गुनासो बढन थालेको छ ।
बन्द अवस्थामा रहेको रौतहटको श्रीराम सुगर मिल्स माघ १५ गतेदेखी सञ्चालन हुने भन्दै उखु उत्पादक संघले किसानहरुलाई सुचना नै निकालेर जानकारी गराएको थियो भने मिल्स सञ्चालन नहुन्जेलसम्म कहि कसैको दवावमा परेर उखु नबेच्न पनि किसानलाई आवहन गरेको थियो ।
तर अझै मिल्स सञ्चालन नहुदा श्रीराम सुगर मिल्समा उखु बेच्न पर्खिरहेका उखु किसानहरुलाई अहिले ठुलो समस्या भएको छ ।
किसान अगुवा राज कुमार दासले मिल्स सञ्चालनको नाममा उखु उत्पादक संघ रौतहटले किसानहरुलाई ठगी गरेको आरोप लगाएका छन ।
मिल्स सञ्चालन हुन्छ तपाईहरु कतै उखु नलैजानुस भन्ने झुठो आश्वासन दिएर संघले जिल्लाका सोझासाझँ किसानहरुलाई गठेको दासले बताए ।
आफनो नाम कमाउन गलत प्रचार प्रसार गरी किसानलाई ठगि गर्ने र खेलवाड गर्ने उखु उत्पादक संघका पदाधिकारीहरुलाई कार्यवाही हुनुपर्ने उनको माग छ ।
उखु उत्पादक संघ रौतहटले निकै तामझामका साथ केहि दिन अघिदेखी नै श्रीराम सुगर मिल्स गरुडा यहि माघ १५ गतेदेखी सञ्चालन हुन गईरहेको भन्ने प्रचार प्रसार गरेको थियो ।
एफएम रेडियो देखी लिएर पत्रपत्रिकाबाट समेत संघले मिल्स माघ १५ गतेबाट सञ्चालन हुन गइरहेको भन्ने प्रचारबाजी गरेको थियो ।
तर अहिले मिल्स सञ्चालन हुन सकेको छैन, मिल्स सञ्चालनको त कुरै छाडौ मिल्स सञ्चालनको अहिलेसम्म कुनै अत्तोपत्तो नभएको रौतहटका किसानको भनाइ रहेको छ ।
मिल्स सञ्चालन हुन नसक्दा माघ १५ गतेबाट गरुडा मिल्समा उखु बेच्ने तयारीमा रहेका उखु किसानहरु फेरी निरास भएका छन ।
माघ १५ गतेबाट मिल्स सञ्चालन हुने आशमा रहेका किसानहरु मिल्स सञ्चालन हुन नसक्दा फेरी निरास भएको स्थानीय उखु किसान हरी साहले बताए ।