गौर,२७ माघ / तस्करलाई नियन्त्रण गर्नका लागि प्रहरीले हवाई फायर गर्नुपर्ने अवस्था आएको छ । एकजना भारतीय तस्करलाई नियन्त्रणमा लिन रौतहट प्रहरीले हवाइ फायरनै गर्नु परेको हो ।
तस्कर पक्राउ परेपछि उनको बयानको आधारमा ठूलो परिमाणमा केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गौर र प्रदेश २ को संयुक्त टोलीले तस्करीको माध्यमबाट भारततर्फ लैजान लागिएको ७० बोरा केराउ बरामद गरेको र तस्करीमा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको रौतहट प्रहरी प्रमुख एसपी रवीराज खडकाले बताए ।
प्रहरीका अनुसार शनिबार राति १२ बजेको समयमा मठिया गाउ नजिकै करिब १५ जनाको संख्यामा भारतीय तस्कर जम्मा भएका थिए । प्रहरीको गस्ती टोलीलाई देखेर तस्करहरु भारततर्फ भाग्न लागेका थिए ।
सो क्रममा प्रहरी टोलीले चार राउण्ड हवाई फायर गरेर तस्करलाई नियन्त्रणमा लिने प्रयास गरे पनि तस्कर समूहमा रहेका भारत, बिहार राज्यको पूर्वी चम्पारण कुण्डवा चैनपुर घरभएका १८ वर्षीय सचिन गोसाइँलाई पक्राउ गरिएको र अन्य तस्कर भाग्न सफल भएको एसपी खडकाले बताए ।
पक्राउ परेका गोसाइँको बयानको आधारमा भारतीय तस्करहरुले एकजना स्थानीयको घरमा भण्डारण गरेको ७० बोरा केराउ प्रहरी टोलीले बरामद गरेको हो । बरामद ३० क्वीन्टल केराउको भारतीय बजार मूल्य तीन लाख रुपैयाभन्दा बढी रहेको प्रहरीको अनुमान छ ।
ईशनाथ नगरपालिका ४ मठिया गा“उ छेउहुदै स्थानिय प्रहरीको मिलोमतोमा दैनिक ठुलो परिमाणमा तस्करी हुनेगरेको स्थानियको सुचनाको आधारमा प्रदेश २ का प्रहरी प्रमुख डिआईजी प्रधुमन कार्कीको निर्देशनमा जिल्ला प्रहरी कार्यालय गौर बाट बिषेश टोली परिचालन गरेको थियो ।
पक्राउ परेका तस्कर गोसाईको बयानको आधारमा तस्करीमा संलग्न अन्य तस्करको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय रौतहटको बिभिन्न नाकाबाट केराउ भारत जाने गरेको छ ।