रुपेन्द्र पटेल
चन्द्रपुर ११ चैत्र ।
रौतहटमा मानिस तथा सवारी आवागमन रोकीएको छैनन् । जिल्लाको चन्द्रपुरस्थित पूर्वपश्चिम राजमार्गमा मानिसको आवागमन र सवारी चल्न छाडेको छैन । सरकारले अनुमति दिइएको सवारीको अलावा मालकबाहक ट्रकहरु निर्वाध रुपमा चलिरहेका छन् । ती ट्रकले यात्रु समेत ओसारिहेका छन् । मंगलबार बिहान स्थानीय घरबाट बाहिर निस्केपनि अहिले सडक सुनसान रहेको छ । ट्रकहरु भने चलिरहेका छन् । (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि सरकारले एक साताका लागि ‘लकडाउन’ को निर्णय गरेको हो । औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् । स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अतिआवश्यक सेवाबाहेकलाई बन्देज लगाइए पनि राजमार्गमा खाली र मालभरिका ट्रकहरु बिहानदेखि चलेका छन् । उनीहरुलाई सुरक्षाकर्मीले रोक्ने प्रयास गरेका छन् । मानिसहरु मोटरसाइकलमा यात्रा गरिरहेका छन् । लामो दूरीको बस चल्न छाडेपछि ट्रकले धमाधम यात्रु बोकेकोमा ट्राफिकले कडाई गरेको छ । मंगलबार बिहान ६ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुक भरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवत जावत बन्द गरिएको हो। ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपि हेम शाहीले ‘लकडाउन’ को पालना गर्न नागरिक आफै सचेत हुनु पर्ने बताए । जथाभावि हिडडुल गर्नेलाई अनावश्यक घरबाट बाहिर निस्कनेलाई कारवाही समेत गर्ने डिएसपि शाहीले बताएका छन । यता जिल्लाको गरुडा, कटहरिया, समनपुर, गौर लगायतका स्थानमा मानिस तथा सवारी साधनको आवागमन रोकिएको छैनन् ।

