रुपेन्द्र पटेल, १४ चैत्र, रौतहट
भारतको विभिन्न ठाउँबाट चोरबाटो हुंदै अधिकांश मानिस रौतहट भित्रिन थालेपछि स्थानीवासिले आफ्नो गाउँ छिरने बाटो बन्द गर्न थालेको छ । कोरोना संक्रमण हुनबाट गाउँ जोगाउन युवाहरुले बाटो बन्द गर्न थालेका हुन् । सरकारले ११ गतेदेखी गरेको लकडाउनका कारण रौतहटको सबै नाकाहरु बन्द छन् । त्यसैले उनीहरु भारतबाट आउँदा चोरबाटो हुंदै आउने गरेका छन् । लामोसमय भारत बसेर फर्केकामध्ये केहीलाई ज्वरो समेत आएको भन्दै स्थानीयवासीले खबर गरेपछि १२ जनालाई नियन्त्रणमा लिएर चन्द्रपुरस्थित क्वारेन्टाईनमा राखिएको छ । भारतबाट चोरबाटो हुँदै रौतहट आउनेको संख्या बढन थालेपछि स्थानिय युवाहरु गाउँ–गाउँको बाटोमा खाडल खनेर र बार लगाएर बाटोनै बन्द गर्न थालेका छन् । रौतहटको फतुवा बिजयपुर,गुजरा, बृन्दावन, गढीमाई, माधन नारायण नगरक्षेत्रका युवा तथा गाँउलेहरुले बाटो बन्द गरेका छन् । बहिरबाट आउनेहरुबाट कोरोना सर्ने सम्भावित खतरालाई नियन्त्रण गर्न बाटो बन्द गरिएको उनिहरुले बताएका छन । रौतहटका सिडिओ बासुदेव घिमिरेले बाहिर बाट आउनेले सुरुमै मेडिकल चेकअप र १६ दिन क्वारेन्टाईनमा बस्न अनिवार्य रहेको बताए ।