रौतहट, १५ चैत्र । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास बढेसँगै जिल्लामा क्वारेनटाइनमा बस्नेको संख्या पनि बढ्दै गइरहेको छ । रौतहट जिल्लामा हालसम्म ६० जनालाई क्वारेन्टाइमा राखिएको छ ।
भारतका विभिन्न स्थानहरुबाट आएका व्यक्तिहरुलाई जिल्लाको विभिन्न स्थानीय तहले संचालन गरेका क्वारेन्टाइनमा राखिएको छ । गौर नगरपालिकाको नर्सिङ्ग कलेजमा स्थापना गरिएको क्वारेन्टाइनमा १६ जना र चन्द्रपुर नगरपालिकाको एन्फा एकेडेमीको क्वारेन्टाइनमा २४ जनालाई राखिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
आफुहरुलाई कुनै लक्षण देखा नपरे पनि आफ्नै सर्तकताका लागि क्वारेनटाइनमा बस्न आएको उनीहरू बताउँछन् । आफुहरु भारतबाट आएकाले न केही छ कि भन्ने शंकाका आधारमा मात्र स्वेच्छाले आएको उनीहरुको भनाइ छ ।
क्वारेन्टाइनमा बस्नेहरुले मानसिक रुपमा आफुहरु यो अवस्थाको सामना गर्न तयार रहेको भन्दै क्वारेन्टाइनमा बस्दैमा कोरोना लागेको भन्ने सोच्नु गलत रहेको बताए । चन्द्रपुर क्वारेनटाइनमा रहेका सरोज विकले भारतको तमिलनाडुमा काम गरेर नेपाल फर्किएको र सो क्रममा संक्रमण भएको पनि हुनसक्ने आशंकाले क्वारेनटाइनमा बस्न आएको बताए ।

उनले आफुले नेपाल आएर पनि २–३ पटक स्वास्थ्य परीक्षण गराउँदा केही नदेखिएको तर पनि मनको शान्तिका लागि र समाजको सुरक्षाका लागि क्वारेनटाइनमा बस्न आएको बताए ।बलविन्द्र कुमार साह पनि आफुलाई क्वारेनटाइनमा बस्दा कुनै पनि डर नलागेको बताउछन् । उनले आफुलाई कोरोना भाइरस नलागेकोमा विश्वस्त रहेको भन्दै आत्मसन्तुष्टि र सुरक्षाको लागि क्वारेनटाइनमा बस्न आएको बताए ।