ओम प्रकाश यादव चैत्र २४ गते । नेपाल र भारत दुवै देशमा लकडाउन जारी रहेकै अवस्थामा खेतवारी र खोल्ला हुँदै नेपाल प्रवेस गर्नेहरुको संख्या रौतहटमा बढेको छ । मुख्य नाकाहरुमा दुवै देशका सुरक्षाकर्मीहरु खटिएर ओहोरदोहोर ठप्प पारे पनि चोर बाटो हुँदै भारतबाट नेपाल आउनेहरु बढेका हुन । जिल्लाको क्वारेन्टाईनहरुमा बस्नेहरुको संख्या दिनानुदिन बढदै जानुले भारत तथा अन्य देशहरुबाट फर्कनेहरुको संख्या बढेको प्रष्ट देखिन्छ । रौतहटमा अहिलेसम्म क्वारेन्टाईनमा बस्नेहरुको संख्या २ सय २२ भन्दा बढी पुगेको छ । विश्वमै महामारीको रुपमा फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको लकडाउनका कारण नेपाल भारतका सम्पूर्ण सिमा नाकाहरु बन्द रहेको छ जस्का कारण भातरका विभिन्न स्थानमा मजदुरी गर्न गएका मजदुरहरु यहिखेर चोर बाटो अर्थात खेतवारी तथा नदि नाला हुँदै नेपाल प्रवेस गरिरहेको स्थानीय बासिन्दाहरुले बताएका छन । यस्तै केहि मानिस सिमा क्षेत्रको उखु र गहु खेतबाट जिल्ला प्रवेस गरिरहेको पाईएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण बढिरहेको अवस्थामा भारत तथा अन्य देशबाट लुकिछिपी गाउँ आएकाहरुबाट जोखिम बढेको स्थानीयहरुले बताएका छन । हुन त बाहिरबाट लुकिछिपी आएकाहरुमाथी प्रहरीले कडा निगरानी गरिरहेका छन । यसरी भारत लगाएत तेश्रो मुलुक र शहरी क्षेत्रबाट आएका मानिस गाउँमा आउन थालेपछि गाउँले समेत त्रसित बनेका छन । विदेशबाट आउनेहरुलाई मात्रै नभई काठमाडौंबाट गाउँ आउनेहरुलाई समेत क्वारेन्टाईनमा राख्नुपर्ने स्थानीयहरुको माग छ । जिल्लाका अधिकांश नगर प्रमुखहरुले खेतवारीबाट लुकेर गाउँ प्रवेस गरेका र लकडाउन हुनुभन्दा दुई चार दिन अघि गाउँ आएकामाथी निगरानी गरिरहेको बताउनुभएको छ । यता भारत तथा अन्य मुलुकहरुबाट आउनेहरुलाई नेपालमा छिर्न नदिन भारतसँग जोडिएको सिमा नाकाहरुमा चेकजाँच कडाई गरिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । सिमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी २४ सौ घण्टा तैनाथ अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक रविराज खडकाले बताउनुभयो ।