रौतहट २१ बैशाख ।
शिक्षक सिकाइ क्रियाकलापमा प्रविधिको प्रयोग गर्ने विषयमा प्रदेश २ मा नै पहिलोचोटि रौतहटबाट भर्चुअल शिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्य समिति रौतहटको पहलमा प्रदेश २ मा शनिवारदेखि भर्चुअल शिक्षक प्रशिक्षण कार्यक्रमको सुरुआत भएको छ । संगठनका महासचिव हंसबहादुर शाहीले बन्दाबन्दीको अवधिमा दुरी कायम गरेर प्रविधिको प्रगोग गरी शिक्षकहरु आफैँ प्रशिक्षित भएर शिक्षण सिकाइ क्रियाकलापका लागि तयार हुनु ज्यादै महत्वपूर्ण भएको बताएका छन् । महासचिव शाहीले प्रदेश २ मा रौतहटले नेतृत्व गरेर प्रविधिमा आधारित शिक्षण सिकाइ प्रक्रिया अन्य जिल्लामा पनि हस्तान्तरण गर्नुपर्ने बताएका छन् । इलाम, काभ्रे, मकवानपुर, कास्कीलगायतका जिल्लामा शिक्षक प्रशिक्षण कार्यक्रम संचालन भएको तथा सुदूर पश्चिममा पनि चलिरहेकोले प्रविधिको माध्यमले आठ दश जिल्लाका शिक्षकहरु सजिलै एकै ठाउँमा एउटा कोठामा बसेजस्तो अनुभव आदानप्रदान गरिरहेको पनि महासचिव शाहीले बताए । पहिलो दिनको शिक्षक प्रशिक्षण कार्यक्रममा लमजुङ, रसुवा, प्युठान, कास्की, मकवानपुर, रुपन्देही लगायतका जिल्लाबाट प्रत्यक्ष प्रसारणमा शुभकामना दिइनुका साथै अनुभव आदान प्रदान भएको छ । जूम एपको माध्यमबाट कास्कीको पोखराबाट प्रशिक्षक तीथ ढकालले ६९ जना सहभागी शिक्षकले प्रविधिको माध्यमबाट पढाइने तरिका र सहभागीहरुको जिज्ञासाको सम्बोधन गरेका छन् । कार्यक्रममा चन्द्रपुर, गरुडा र गौर नगरपालिकाका शिक्षकहरु बढी मात्रामा सहभागिता जनाएको संगठनका अध्यक्ष धर्मेन्द्रकुमार सिंहले जानकारी गराएका छन् । विभिन्न जिल्लाबाट विभिन्न क्षेत्रका प्रशिक्षकहरुबाट शिक्षकहरुलाई आवश्यकतानुसारको विषयमा प्रशिक्षित गराइने र केही हप्ता यो क्रम जारी रहने अध्यक्ष सिंहको दाबी छ ।
तस्वीर गुगलबाट