जनकपुर,१२ मंसिर । लामो समयदेखि कर नबुझाउने करदातामाथि आन्तरिक राजस्व कार्यालयले कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार पारेर कारबाही अघि बढाइएको कार्यालयका प्रमुख गजेन्द्रप्रसाद यादवले जानकारी दिए ।
उनले कर नबुझाउने करदाताको सूची तयार पारेर पहिलो चरणमा टेलिफोनमार्फत कर बुझाउन आग्रह गरेको बताए ।
उनले दोस्रो चरणमा पत्राचार गरिने र अन्तिममा सूचना प्रकाशन गरी बैंक खाता रोक्का गर्नेलगायत कारबाही गरिने जानकारी दिएका छन् । अघिल्लो आर्थिक वर्ष ०७७÷ ०७८ मा कर नबुझाउने ५० जना करदातामाथि कारबाही गरिएकामा यस वर्ष पनि कारबाही अघि बढाएको प्रमुख यादवको भनाइ थियो । उक्त कार्यालयले चालू आव ०७८÷ ०७९ को चार महीनामा १ अर्ब ७३ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यभन्दा २०८ प्रतिशत बढी हो । सो कार्यालयको यस अबधिमा ८३ करोड १८ लाख ४० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । चालू आव ०७८÷ ०७९ मा ३ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा र चार महीनामै लक्ष्यको ५५ प्रतिशत राजस्व संकलन भइसकेको प्रमुख यादवले बताए ।
आयकरतर्फ ३१ हजार ९००, व्यक्तिगततर्फ ५७ हजार ३३७६ र अन्तशुल्कतर्फ १ हजार ३४८ गरी ९८ हजार ९४ करदाता रहेको कार्यालयले बताएको छ । यसैबीच कार्यालयले चार ओटा जिल्लाका चार जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर सप्ताहअन्तर्गत धनुषाका क्षीरेश्वर डिष्ट्रीलरी, महोत्तरीको अल्का वाइर प्रालि, सिन्धुलीको सिद्धबाबा कन्ट्रक्सन र सर्लाहीको नेपाल भेनियर उद्योगलाई सम्मान गरिएकोे छ ।
आन्तरिक राजस्व विभागले निर्धारण गरेको मापदण्डअनुसार राजस्वमा योगदान पु¥याउने, समयमा सही बितरण बुझाउने, बक्यौता बेरुजु नराख्ने र कुनै प्रकारको दण्ड जरिवाना नतिरेकामध्येबाट उत्कृष्ट करदाता छनोट गर्ने गरिन्छ । यस्तै उत्कृष्ट कार्य गरेबापत करदाता सेवा कार्यालय मलंगवामा कार्यरत जयकिशोर साह, करदाता सेवा कार्यालय बर्दिबासका कार्यरत विजय साह र आन्तरिक राजस्व कार्यालयका राकेशकुमार मिश्रलाई पुरस्कृत गरिएको छ ।








