अशोक पहाडी,चन्द्रपुर,११ साउन ।
रौतहटमा रहेका ३ वटा साझेदारी वन उपभोक्ता समितिमा बर्षौ देखी एकै समिति रहेकाछन् । हरेक दुई बर्षमा साधारण सभा गरेर उपभोक्ता समिति गठन गर्नुपर्नेमा रौतहटमा रहेका साझेदारी वनमा त्यसो हुन सकेको छैन ।
रंगपुर साझेदारी वन उपभोक्ता समिति गठन भएयता ३ जना अध्यक्ष भएका छन् । संस्थापक अध्यक्ष नागेन्द्र यादव प्रदेश सांसद भएपछि सो समितिको अध्यक्ष उपाध्यक्ष जितेन्द्र चौधरी भए । उनीपनि वडा अध्यक्ष भएपछि अशोक यादव रंगपुर साझेदारी वनको अध्यक्ष भए । अशोक यादवले कुन बिधान अनुसार अध्यक्ष बनाइयो त्यो खोजीको बिषय बनेको छ ।
यता जंगलसहिया साझेदारी वन उपभोक्ता समितिको अध्यक्षमा रामचन्द्र गिरी स्थापना काल देखीनै अध्यक्ष रहेकाछन् । उनी सहित सो उपभोक्ता समितिमा रहेका पदाधिकारी लामो समय देखी समितिमै रहेकाछन् ।
२० बर्ष पहिला तत्कालिन राजा ज्ञानेन्द्रको शासन कालमा देशमै पहिलो पटक रौतहटमा ३ वटा साझेदारी वनको अवधारण अनुसार ती उपभोक्ता समिति गठन भएका थिए । स्थापना कालदेखीनै जिल्लामा रामलाल बृन्दावन साझेदारी वन उपभोक्ता समिति संचालनमा रहेको छ । सो समितिको अध्यक्षमा स्थापना कालदेखीनै शंखर यादव अध्यक्ष रहेकाछन् ।
बिधान अनुसार हरेक दुई बर्षमा आम उपभोक्ता राखेर साधारण सभाका माध्यमबाट समिति चयन गर्ने बिधान रहेको छ । रौतहटमा बिधान बिपरित साझेदारी वनमा एउटै समिति २० बर्ष देखी कायम रहेको छ ।
नियम अनुसार साधारणसभा भएर समिति बन्न नसकेको डिभिजन वन कार्यालय रौतहटका साहायक वन अधिकृत रामप्रसाद साहले बताए । नियम कानुन विपरित रौतहटका तीनवटै साझेदारी वन डिभिजन वन कार्यालयबाट बिभिन्न शिर्षकमा रकम लिएर काम गर्दै आएका छन् । उनीहरुले हालै काठ बिक्रि वितरणको अनुमती लिएर काठ समेत बिक्रि बितरण गरेकाछन् । ती साझेदारी वन उपभोक्त समितिरुलाई डिभिजन वन कार्यालय रौतहटले साझेदारी वनको अवधारण अनुसार काम र साधारणसभा समेत गराउन नसकेको उपभोक्ता भरत आचार्यको भनाइ रहेको छ । राज्यले बनाएको नियम विपरित रौतहटमा रहेका रंगपुर साझेदारी वन उपभोक्ता समिति ,जंगलसहिया साझेदारी वन उपभोक्ता समिति र रामलाल बृन्दावन साझेदारी वन उपभोक्ता समिति संचालनमा रहेकाछन् ।
काठ दाउराबाट बन्चित रहेका उपभोक्ताले सहजै काठ दाउरा पांउन भन्ने मनसायले तत्कालिन समयमा गठन भएका साझेदारी वन उपभोक्ता समितिले काठ दाउरा वितरणमा समेत अनियमिता गरेको आम उपभोक्ताहरुको गुनासो रहेको छ ।
तीनै वटा साझेदारी वनले हालै काठ बितरण गर्दा उपभोक्तालाई भन्दा ब्यापारीलाई अनियमित तरिकाले काठ दाउरा बितरण गरेको गुनासोका व्यापक रहेको छ । डिभिजन वन कार्यालयलले साझेदारी वन उपभोक्ता समितिले उपभोक्तालाई काठ दिनस पर्नेमा व्यापारीलाई काठ दिएको गुनासो आएपछि रंगपुर साझेदारी वनलाई पत्र काटेर स्पस्टीकरण सोधेको छ ।
रामलाल बृन्दावन साझेदारी वन उपभोक्ता समिति र जंगलसहिया साझेदारी वन उपभोक्ता समितिले समेत काठ वितरण गर्दा उपभोक्तालाई भन्दा व्यापारीलाई प्राथमिकता दिएको स्थानीयको भनाइ रहेको छ । ३ वटै साझेदारी वन उपभोक्ता समितिलाई कानुनको दायरामा ल्याउनुपर्ने आम उपभोक्ताको भनाइ रहेको छ ।








