गौर,१७ भदौ ।
हत्या अभियोगमा जेलमा रहेका पुर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता मोहमद आफ्ताव आलमलाई नेपाली कांग्रेस रौतहट क्षेत्रनं २ ले संघिय संसदमा एकल नाम सिफरिस गरेको छ । यो सिफरिससंगै आलम आउदो मंसिरको निर्वाचनमा जेलबाट चुनाव लड्ने लगभग पक्का जस्तै भएको छ । जिउदो मान्छेलाई इटा भट्टामा हालेको आरोप लागेका र अहिले थुनामा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको हो ।
कांग्रेस रौतहट क्षेत्र नम्बर –२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि आलमकै मात्रै नाम सिफारिस गरेको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए ।
आलम यसअघि रौतहट २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउदै ईटा भट्टामा हालेको आरोपमा पक्राउ परेपछि निलम्बनमा छन् । २०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुदा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो ।
घटना लुकाउन उनले विस्फोटमा परी घाइते भएकाहरुलाई जिउदै इटाभट्टामा जलाइएको आरोप छ । श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलमसहित, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले आलमलाई २०७६ सालको असोजमा पक्राउ गरेको थियो ।








