चन्द्रपुर,८ असोज ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारका आकांक्षी नेताहरू केन्द्र धाउन थालेका छन । टिकट वितरणको अधिकार केन्द्रले राखेपछि दबाब बढाउन कार्यकर्ताको दलबलसहित रौतहटका नेताहरू काठमाडौं पुगेका हुन ।
नेपाली कांग्रेस रौतहट क्षेत्रनं ४ का संसद आकंक्षी देव प्रसाद तिमलसिना र रबिनचन्द्र कोईराला आआफ्नो समुह सहित टिकटको दवावका लागि राजधानीमा रहेका छन् । नेकपा एमालेका रौतहटका केही नेताहरु समेत केहीदिन देखी टिकटको लागि राजधानीमै रहेका छन् । उता धुषाका जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेपाली कांग्रेसलगायत दलका नेताहरू काठमाडौं गएका छन । नेतृत्व तहमा पकड बनाएका नेतालाई अहिले जिल्लाबाट आएका नेता तथा कार्यकर्ता भेटघाटले भ्याइनभ्याइ छ ।
तर, टिकटको अन्तिम टुंगो भने नेतृत्व तहले लगाउने भएकाले कुनै नेता यतिकैमा विश्वस्त हुने अवस्था नरहेको जसपाका एक नेताले बताए । जति भनसुन गरे पनि अन्तिम निर्णय नेतृत्व तहले नै गर्ने हो, उनले भने, भनसुन गरेर नेतृत्वलाई दबाब बनाउने हो । टिकटको अन्तिम टुंगो नेतृत्व तहले गर्ने भएकाले नेताहरू आफ्नो पक्षमा माहोल बनाइरहेका छन ।
धनुषाका एउटा क्षेत्रबाट जसपाले प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरेको छन । क्षेत्रीय समितिले जिल्ला र जिल्लाले प्रदेशलाई आकांक्षी नेताहरूको नाम सिफारिस गरेको थियो । पाच दलीय गठबन्धनसहित प्रमुख दलका प्रदेश समितिले सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसकेको छ । यस्तै, लोसपाका नेताहरू पनि टिकटका लागि काठमाडौं पुगेका छन । मधेस प्रदेशको ८ जिल्लामा ४÷४ गरी ३२ प्रतिनिधिसभा र ८÷८ गरी ६४ प्रदेशसभा निर्वाचन क्षेत्र छ । नेकपा एमाले भने गठबन्धनबाट रुष्ट नेतालाई पार्टीमा भित्र्याउनमा केन्द्रित छ ।
गठबन्धन हुदा मधेसमा कैयौं नेताको टिकट जोखिममा छ । उनीहरूले पनि टिकट आफूहरूले पाउनुपर्ने भन्दै नेतृत्व तहमाथि दबाब दिएका छन ।
गठबन्धनमा तालमेल भइसकेको क्षेत्रमा आकांक्षी बढी देखिएका छन । चुनावको मुखमा जनताको घरदैलोमा जानुपर्ने नेताहरु टिकटका लागि नेताको घरदैलो चाहार्दै हिडनु राम्रो नभएको भन्दै केहीले सामाजिक संजालमा पोष्ट्याउन भ्याएकाछन् ।