रौतहट,२५ असोज । नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहका लागि पार्टीमा फर्किने ढोका बन्द भएको छ ।
आसन्न चुनावको मनोनयन क्रममा उनले एमालेबाट रौतहट ३ का लागि टिकट पाएका थिए । आइतबार साँझ ५ बजेसम्म पनि आफू मनोनयन क्रममा रहेको भनी उनले अध्यक्ष केपी ओलीलाई जानकारी गराएका थिए । अन्तिम घडीमा उनले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गरेपछि एमाले नेतृत्व झस्केको छ ।
अध्यक्ष ओलीले यसलाई संदिग्ध गतिविधि भनी अर्थ्याएका छन् । दलको उम्मेदवारी पन्छाएर स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीको सदस्यताबारे स्वतः प्रश्न उठ्ने उनले बताएका छन् । उहा केही समयदेखि संदिग्ध गतिविधिमा हुनुहुन्छ भनी साथीहरुले भन्दैहुनुहुन्थ्यो, मैले पत्याएको थिइनँ, एउटा टिभीसग प्रतिक्रिया दिदै ओलीले भने, उहाले स्वतन्त्र रहन्छु, दलबाट बाहिर रहन्छु भनेपछि त्यो स्थिति उत्पन्न हुने नै भयो । ओलीको यही जवाफबाट साह एमालेमा रहने अवस्था अन्त्य भएको प्रष्ट हुन्छ । खासमा उनले आफूसहित मधेसका आठ चुनाव क्षेत्रबाट आफू पक्षका कार्यकर्तालाई स्वतन्त्र हैसियतमा टिकट दिन लगाएका छन् ।








