गौर,३० असोज ।
दोस्रो संविधासभा निर्वाचनमा मधेशवादी दलका तर्फबाट नेकपा एमालेका नेता माधव कुमार नेपालसंग करिव तीन सय भोटले हारेका अजय कुमार गुप्ता पछिल्लो सयम नेकपा एमालेबाटनै माधव कुमार नेपालसंग चुनावी मैदानमा उत्रेकाछन् ।
मधेशवादी दल त्यागेर नेकपा एमाले प्रवेस गरेका गुप्ता यो चुनावमा नेकपा एकीकृत समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष माधव कुमार नेपालसंग मैदानमा छन् ।
रौतहटका नगरिकले बोलाएकाले नै आफूले उम्मेदवारी दिएर मैदान आएको र आफुले उनी चुनाव जित्नेमा कुनै दुईमत नरहेको माधव नेपालले बताउने गरेकाछन् । तर एमालेबाट रौतहट १ को उम्मेदवार रहेका गूप्ताले भने रौतहटमा माधव कुमार नेपालकै कारण विकास हुन नसकेको बताउदै मतदाताकहा“ जाने गरेकाछन् ।
माधव कुमार नेपालको रौतहट सदरमुकामसमेत रहेको गौर नगरपालिका–१ मा नेपालको पुख्र्याैली घर छ । जुन रौतहट–१ मै पर्छ । यसअघि २०५६ को आम चुनाव र २०७० सालको दोस्रो संविधानसभा चुनावमा नेपाल रौतहट १ बाट करिव ३ सय भोटले निर्वाचित भए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी रौतहट ४ बाट तत्कालिन नेकपा माओवादीका उम्मेदबार देबेन्द्र पटेलसंग पराजित भएका थिए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचित भएका नेपाल यस पटक फेरि आफ्नो गृहजिल्लामा आएकाछ । तर उनले यसअघि चुनाव जितेको पार्टी छाडेर आफ्नै नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट चुनाव लड्दैछन् । उनलाई यो चुनाव जित्नका लागि त्यती सहज नहुने जानकारहरुको भनाइ रहेको छ ।
रौतहट–१ बाट नेपालसहित १७ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनको पूर्वपार्टी नेकपा एमालेले अजयकुमार गुप्तालाई उम्मेदवार बनाएको छ । नेता नेपाल नेकपा एमालेमा छँदा पटक पटक चुनाव जितेको हुनाले यो क्षेत्रमा एमाले पनि कमजोर छैन ।
तत्कालिन राजपाबाट २०७४ को स्थानीय तहको चुनावमा गौर नगरपालिकाको मेयरमा निर्वाचित गुप्ता गत २३ साउनमा मात्र एमाले प्रवेश गरेका हुन् ।
गुप्ता यस पटकको निर्वाचनमा नेता नेपाललाई आफूले हराउने दावी गर्छन् । रौतहट १ विकासमा पछि पर्नुमा यहँबाट निर्वाचित सांसदको पनि भूमिका रहेको बताउदै उनी यस पटक जनताले आफूलाई जिताउने जिकिर गर्छन् ।
विगतका जनप्रतिनिधिले जसरी विकास गर्नुपर्ने हो त्यो गरेको छैन उनले भने, जनताले त्यसको मूल्यांकन गरेका छन् । अब मलाई जिताउछन् ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा निर्वाचित भएका थिए ।
झा यस पटक धनुषा–३ मा उम्मेदवार बनेका छन् र लोसपा सत्तारुढ गठबन्धनमै छ । त्यसैले झाको समर्थन पनि नेपाललाई नै रहने एकीकृत समाजवादीका नेताहरु बताउछन् ।