रौतहट,१२ कार्तिक । गठबन्धनको शुक्रबार बसेको बैठकले तय गरेको साझा उम्मेदवारको सूचीले रौतहटको नेकपा (एकीकृत समाजवादी)मा विवाद ल्याएको छ । बैठकले रौतहट क्षेत्र नम्बर ४ को गठबन्धनको आधिकारिक उम्मेदवारको रुपमा प्रतिनिधि सभामा नेपाली कांग्रेसका देव प्रसाद तिमल्सिना, प्रदेश सभातर्फ रौतहट ४ (क) मा माओवादी केन्द्रका युवराज भट्टराई ‘समिर’ र रौतहट ४ (ख) एकीकृत समाजवादीका शेख सतार आधिकारिक उम्मेदवार तय भएका छन् ।
तर, रौतहट ४ (१) मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको तर्फबाट बालकृष्ण श्रेष्ठ पनि चुनावी मैदानमा छन् । पार्टीका अध्यक्ष माधव कुमार नेपालसहितको निर्णयबाट गठबन्धनको आधिकारिक उम्मेदवार तय गरेको भन्दै सो पार्टीका नेता कार्यकर्ता नेपालसँग रुष्ट बनेका छन् । उनीहरुले गठबन्धनको सो निर्णय नमान्ने भन्दै उम्मेदवार सहितको निर्वाचन अभियान जारी राख्ने बताएका छन् । पार्टी र कार्यकर्ताको भावना विपरीत अध्यक्ष नेपालले सहमति गरेको भन्दै अध्यक्षको निर्देशन पनि नमानी अगाडि बढ्ने चेतावनी दिएका छन् । सो पार्टीका रौतहट ४ (क) निर्वाचन परिचालन कमिटीको संयोजक तथा जिल्ला सचिवालय सदस्य बाबुराम दाहालले पार्टी अध्यक्ष नेपालसँगकै सल्लाहमा कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नलिने शर्तमा आफूहरु उम्मेदवारी दर्ता गरेकाले अहिले आएर फिर्ता लेउ भन्ने बित्तिकै लिन नसकिने बताएका छन् ।








