अशोक पहाडी
रौतहट,२२ बैशाख ।
जिल्लाको चन्द्रनिगाहपुरबाट एकै रात हराएका तीन वटा मोटर साईकल जिल्ला बाहिरका चोरले चोरी गरेको तथ्य फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले तीन दिन पहिला चन्द्रनिगाहपुरबाट चोरी भएका तीन वटा मोटर साईकल सहित तीन जना रौतहट बाहिरका चोरलाई पक्राउ गरेपछि रौतहटमा हुने मोटर साईकल चोरीका घटनामा जिल्ला बाहिरका चोरको सक्रियता रहेको पाईएको हो ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको एरियाबाट बिभिन्न मितिमा चोरी भएका मोटरसाईकलहरु सहित प्रहरीले तीनजना चोरलाई पक्राउ गरेको हो ।
मधेश प्रदेश ०२–००५ प ९४२५ नम्वरको यमहा कम्पनिको मोटरसाईकल, ना.४६ प ६२४७ नम्वरको हिरो कम्पनिको सुपर स्पेलेण्डर मोटरसाईकल, बा.६९ प ९३६१ नम्वरको बजाज कम्पनिको २०० सि.सी.को मोटरसाईकल तीन दिन पहिला एकै रात चन्द्रनिगाहपुरबाट चोरी भएको थियो । ती मोटर साईकल चोरीमा संलग्न रहेका सर्लाही जिल्ला घर भएका १९बर्षका श्याम महतो , सर्लाही जिल्लानै घर भएका १९ का नजरे नदाफ र सप्तरी जिल्ला घर भएका २० बर्षका सिधार्थ महतोलाई मोटर साईकल सहित ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेर शुक्रबार साँझ सार्वजनिक गरेको हो ।
मोटर साईकल चोरीमा संलग्न रहेका ३ जनालाई जिल्ला अदालत गौरबाट चोरी कसुरमा म्याद थप गरेर अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् । पछिल्लो समय चन्द्रनिगाहपुर क्षेत्रमा मोटर साईकल चोरीका घटना तिब्र रुपमा बढेको भन्दै स्थानीय स्तरमा प्ररहीको आलोचना भईरहेको बेलामा प्ररहीले चोर सहित चोरीका मोटरसाईकल बरामल गरेको हो । बरामद भएका मोटर साईकल कानुनी प्रक्रिया पुरा गरेर सम्बन्धीत धनीलाई बुझाउने प्रहरी निरीक्षक सापकोटाले जानकारी दिएकाछन् ।