रौतहट,२८ साउन । १७ वर्षअघि भएको गौर घटनामा मुछिएका नेताहरू डेलिगेसन लिएर काठमाडौँ आइपुगेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाहेकका नेताहरू काठमाडौँमा विभिन्न दलका नेताहरूलाई भेटेर गौर घटनाको बारेमा जानकारी गराउँदै त्यसको बारेमा आ–आफ्नो पार्टीदेखि लिएर संसद्‍मा समेत कुरा उठाइदिन आग्रह गरेका छन् ।
गौर घटनालाई लिएर रामकिशोर यादवको नेतृत्वमा मधेस आन्दोलन सर्वदलीय, सर्वपक्षीय संघर्ष समिति गठन गरेको छ । सो समितिमार्फत उनीहरूले विभिन्न दलका नेताहरूलाई भेटिरहेका छन् । समितिका नेताहरूले जसपाका अध्यक्ष उपेन्द्र यादवदेखि लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोसम्म, एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, सचिव योगेश भट्टराईदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलसम्मलाई भेटिसकेका छन् ।
उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने तयारी पनि गरेका छन् । गौर घटना कसरी भयो, त्यसको यथार्थ के हो, यसलाई कानुनी रूपमा कसरी समाधान गर्न सकिन्छ लगायतका विषयमा छलफल गरिएको समितिका सदस्य अमर यादवले बताए ।
गौर घटनाका दिन तत्कालीन मधेसी जनअधिकार फोरमको तर्फबाट आयोजना गरेको कार्यक्रमका संयोजक समेत रहेका अमर यादवविरुद्ध मुद्दा रहेको छ । तत्कालीन मधेसी जनअधिकार फोरमबाट अलग भएर आफ्नै नेतृत्वमा पार्टी सञ्चालन गर्दै आएका यादवले गृह मन्त्रालयले गौर घटनाका पीडितसँग गरेको वार्ता नै गलत भएको बताउँछन् ।
मन्त्रिपरिषद्बाट निर्णय गरेर वार्ता समिति गठन गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको निर्देशनमा समिति बनाएर हतार हतार गृह मन्त्रालयले वार्ता गर्नु नै शङ्कास्पद काम भएको उनले बताए । सहमति पत्रमा गृह मन्त्रालयका प्रतिनिधिले हस्ताक्षर गर्नु पनि त्रुटिपूर्ण रहेको बताए ।
राजनीतिक घटनालाई आपराधिक घटना जस्तो देखाएर राजनीतिक द्वन्द्व निम्त्याउने प्रयास भइरहेको नेता यादवले बताए । उनले आफूहरूले हरेक नेतालाई भेटेर यसको निकास चाँडै निकाल आग्रह गरेको बताए ।
उनले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समेत आफूले सत्ताधारी दल भएको कारणले यसको समाधानमा भूमिका खेल्न आग्रह गरेको बताए । गौर घटनालगायत विभिन्न चरणमा भएको मधेस आन्दोलनका आडमा पटक–पटक सत्तामा गएको तर यी मुद्दाहरूको समाधान नगरेको कुरा आफूले राखेको बताए ।
अहिले पनि जसपा अध्यक्ष यादव यो घटनामा आफू मात्र चोखिन खोजेको आरोप अमर यादवले लगाए । ‘गौर घटनाका कारण धेरै जनामाथि मुद्दा छ । ती सबैलाई जोगाउने, बचाउने काम उपेन्द्र यादवको हो । तर उनले आफूबाहेक अरूको बारेमा कुरा गरेका छैनन्,’ यादव आरोपले लगाए ।