गौर,१ पुस ।
गैर सरकारी संस्था माण्डवीकी अध्यक्ष अन्जु झाले रौतहटको माधवनारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरका केही आगलागी पीडितहरुले आफु र आफना संस्थालाई बदनाम गर्ने काम गरेको बताएकी छन् ।
आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट हुँदा पालमुनी बसिरहेको पीडितलाई घर बनाउन आफुले सहयोग गर्दा अरुको उक्साहटमा परेर पीडितहरुले आफना संस्थालाई उल्टै बदनाम गर्न झुठा आरोप लगाएको अध्यक्ष झाले बताइन ।
केही आगलागी पीडितहरुले मिडियामा आएर माण्डवीले आफुहरुको घर बनाउने जिम्मा लिएपनि घरको जग्ग वा फाउण्डेश्न मात्र खडा गरी अधुरै छाडेर फरार भएको हुँदा आफुहरु ठुलो विजोगमा परेको भनी उनिहरुले माण्डवी संस्थामाथी आरोप लगाएको थियो ।
तर शुक्रवार माण्डवीको कार्यालय गौरमा पत्रकारहरुसंग कुराकानी गर्दै माण्डवीकी अध्यक्ष झाले पीडितहरुले लगाएको उक्त आरोपमा कुनै सत्यता नरहेको बताएकी छन् ।
एनसेट नामक संस्थाको सहकार्यमा माण्डवीले २०७९ साल चैत्र २६ गते विशुनपूर्वा मानपुरमा आगलागीबाट क्षति भएका १७ जना घरपरिवारलाई तत्कालको लागि आवश्यक पर्ने अवास व्यवस्थापनाका लागि राहतको रुपमा आपतकालिन आवास निर्माण गर्नका लागि पीडित भनिएका १७ घरधुरीलाई तिन किसतामा गरी १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने समझौता गरेको उनले बताइन ।
आफुहरुले उनिहरु पालमुनी नबसेर तत्कालको लागि कम्तीमा छानाको घरमा बसोस भन्ने उद्देश्यले एक, एक कोठा भएको घर निर्माण गर्न तयार भएपनि पीडितहरुले हामी आफै घर बनाउँछौ बरु तपाईहरु हामीलाई १ लाख ५० हजार नगद नै उपलब्ध गराइदिनुस भनी आग्रह गर्दा आफुहरुले १७ जना पीडितहरुलाई प्रति व्यक्ति १ लाख ५० हजारको दरले बैंकमार्फत भुक्तानी गरिदिएको उनले बताइन ।
१७ जना पीडितले नै आफनै राजीखुसीले आफैले घर बनाउने भनी माण्डवी संग समझौता गरेको र पीडितसंग गरिएको समझौता अनुसार आफुहरुले प्रत्येक घरधुरीको खातामा तिन किस्तामा गरी १ लाख ५० हजार रुपैयाँ पठाइसकिएको उनले बताइन ।
पीडितहरुको घर बनाउने जिम्मा आफुहरुले नलिएको भएपनि उनीहरुले आफुहरुको घर बनाउने जिम्मा लिएको भनी माण्डवीमाथी आरोप लगाई संस्थालाई बदनाम गर्न खोजेको उनको भनाई छ ।
पीडितहरुले आफै घर बनाउने समझौता गरेपनि अहिले घर बनाउन नसक्दा आफुहरुमाथी आरोप लगाउनु सरासर गलत रहेको उनले बताइन ।
पीडितहरुले माण्डवीमाथी लगाएको उक्त आरोप गलत, झूठा, भ्रामक र कपोकल्पित रहेकोले उनिहरुको कुरामा विश्वास नगर्न उनले सबैलाई आग्रह गरिन ।
आफुहरुले उनिहरुको घर बनाइदिने भनी कहि कतै कुनै निकायसंग कुनै प्रकारको समझौता नगरेको समेत उनले दावी गरिन । माण्डवीले उपलब्ध गराएको रकमबाट पीडितहरुले घरको जग्ग वा फाउण्डेश्न खडा गरिसकेका छन् ।
तर अब घरको बाँकी काम गर्न आफुहरुसंग पैसा नहुँदा अब घर कसरी बनाउने भनी उनीहरु चिन्तामा परेका छन् ।
अरु दातृ निकाय वा संघ संस्थाले सहयोग गर्ने आशमा पीडितहरुले घरको जग्ग उठाएपनि अन्य कुनै व्यक्ति वा निकायबाट अझै सहयोग प्राप्त नहुँदा आफुहरुको घर कसरी निर्माण हुने भन्ने चिन्ता उनिहरुलाई सताएको छ ।