चन्द्रपुर,१३ पुस ।
रौतहटका बिभिन्न बैंकका कारण बृद्धबृद्धालाई सरकारले मासिक रुपमा उपलब्ध गराउने बृद्धभत्ता पाउन सकस भएको छ । सरकारले उपलब्ध यराउने त्यो सुरक्षा भत्ता लिन भने ज्येष्ठ नागरिकले निकै सास्ती खेप्नु परिरहेको अवस्था छ । सामाजिक सुरक्षा भत्तामा अर्कैले बुझेर लगिदिने लगायतका बेथिति निम्तिएपछि सरकारले बैंकिङ्ग प्रणाली सुरु गर्यो । तर, त्यो ज्येष्ठ नागरिकका लागि भने निकै कष्टकर बन्न थालेको छ ।
बिहिबार बिहानैबाट चन्द्रनिगाहपुरमा रहेको एनआईसि एशिया बैंकको तल बृद्धबृद्धा चिसो भुईमै बस्न बाध्य भएका थिए । जिल्लाको गुजरा नगरपालिकाले बुद्धभत्ता एनआईसि एशिया बैंकबाट दिने व्यावस्था गरेको छ ।
सयौ बृद्धबृद्धा बिहिबार बैंक अगाडि मान्छे हिडने बाटोमा बैंक खुल्नु २ घण्टा लगाडिनै लाईनमा बसेका थिए । सरकारले दिने बृद्धभत्ता लिन आफु बिहानै नातीलाई लिएर लाईन बस्न आएको गुजरा ९ की ८५ बर्षकी जितनी देवी चौधरीले बताईन । सरकारले भत्ता त दियो तर लिनका लागि सकस भएको उनको भनाइ रहेको छ । प्रत्येक स्थानीय तहमा पायक पर्ने बैंक तथा वित्तीय संस्था छैनन् । जसको मार भने ज्येष्ठ नागरिकले खेप्नु परेको पाइन्छ । सरकारले दिएको भत्ता बुझ्न भोकै र प्यासै दिनभर बैंकको लाममा बस्नुपर्ने तथा अनेकन झन्झट व्यहोर्नुपर्ने अवस्था छन् ।
सरकारले सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेपछि त्यसको आशा ज्येष्ठ नागरिकमा हुन्छ । कतिपय त्यही भत्ताले नै आफ्नो जीविकोपार्जन गरेको थुप्रै उदाहरण पाइन्छ ।
स्थानीय तहले बैंकमा रकम हालिदिएपछि उतैबाट लिन भन्छ । रौतहटको सन्दर्भमा भन्ने हो भने भत्ताका लागि सहयोगी लिएर बैंक खोज्दै हिडेका तमाम भेटिन्छन् ।
सरकारले सहज रुपमा बृद्धभत्ता बितरण गर्नुपर्ने गुजराकै अर्का बृद्ध दिनेश चौधरीले बताए । ज्येष्ठ नागरिकहरुले सरकारले लगाएको गुण घरसम्मै पुर्याएर हातमा दिए निकै राहत हुने चौधरी बताउँछन् । ‘ज्येष्ठ नागरिकको सम्मान गरेको सरकारले घरमै पुगेर हातमा दिए निकै राम्रो हुन्थ्यो’, चौधरी भन्छन् ।
ज्येष्ठ नागरिक एक्लै भत्ता लिन आउन नसक्ने उनी बताउछन् । ‘उमेर सँगै धेरै स्वास्थ्य समस्या हुन्छ, बैंकसम्म पुग्न कोही बाटो थाहा पाउँदैनन्, कोही कान सुन्दैनन् त कोही हिडडुल नै गर्न सक्दैनन्न, उनी भन्छन्, ‘सरकारले कर्तव्य त पूरा गर्यो तर त्यसको कार्यान्वनमा चासो राखेन ।’ गाउँमा बृद्ध बृद्धाहरु बजारसम्म आएर बैकिङ्ग प्रणालीमार्फत भत्ता बुझ्ने अवस्था सहज नभएको र स्थानीय सरकारको पनि दायित्व र जिम्मेवारी भएकाले घरमै सेवा उपलब्ध गराउने तर्फ केन्द्रित हुनुपर्ने चन्द्रनिगाहपुरका स्थानीय युवा अरुण लामाको भनाइ रहेको छ ।