गरुडा,९ चैत ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका शिक्षा शाखा प्रमुखकै कारण सो नगरपालिकाको शिक्षाको स्तर दिनानुदिन खस्कँदै गएको आरोप लाग्दै आएको छ । शिक्षा शाखा प्रमुखकै कारण देवाही गोनाही नगरपालिकाको शिक्षा क्षेत्रको अवस्था तहस नहसमा पुगेको स्थानीय बासिन्दाले बताएका छन् । सो नगरपालिकाको शिक्षा शाखा प्रमुख अरविन्द यादव हुन् । शिक्षा शाखा प्रमुख हुनका लागि निजामती कर्मचारी उपसचिव सरह हुनुपर्नेमा सो नगरपालिकाले नगरभित्रकै एक विद्यालयका शिक्षक यादवलाई विगत लामो समयदेखि शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिएका कारण नगरको शिक्षाको अवस्था तहसनहस भएको गुनासो बढेको हो । २०७४ सालदेखि स्थानीय शिक्षक अरविन्द यादवले नगरपालिकाको शिक्षा शाखाको कमाण्ड सम्हाल्दै आएका छन् ।
शिक्षा शाखा प्रमुख यादवका कारण नगरपालिका वडा नम्बर ७ उचिडीमा रहेको एक विद्यालयको अवस्था नाजुक बनेको स्थानीय बासिन्दा तथा नेकपा एमालेका रौतहट जिल्ला उपाध्यक्ष रुपेश पटेलले बताएका छन् । सो विद्यालयमा ७ लाख रुपैयाँ बराबरको शौचालय बनाउनुपर्नेमा नबनाई रकम हिनामिना गरेपछि स्थानीय बासिन्दाले अख्तियारमा उजुरी दिएपछि त्यसको लगत्तै शौचालय बनाउने काम सुरु भएको थियो । शौचालय नबनाई सो रकम हिनामिना गर्ने मनसाय राखेका यादव र विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद कुस्वाहले अख्तियारमा उजुरी परेपछि शौचालय निर्माणको काम गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
उचिडीमा रहेको आधारभूत विद्यालय निर्माणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाख रुपैयाँ आएको र पालिकाबाट ३५ लाख रुपैयाँ विनियोजन भएपछि भवन बनाउने काम सुरु भएको थियो । सो भवन निर्माणमा व्यापक आर्थिक अनियमितता भएको भन्दै पुन स्थानीय बासिन्दाले अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा उजुरी दिएपछि अहिले भवन निर्माणको काम रोकिएको छ । शिक्षा शाखा प्रमुख यादवको संरक्षणमा रहेका उचिडीका प्रधानाध्यापक कुस्वाहले मनलाग्दी गर्न थालेपछि स्थानीय बासिन्दाले अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा उजुरी दिएका थिए । अनियमितता र भ्रष्टाचारमा लिप्त रहने प्रधानाध्यापक कुस्वाहलालाई बचाउने काम शिक्षा शाखा प्रमुख यादवले गर्दै आएको भन्दै स्थानीय बासिन्दाले चर्को विरोध गर्दै आएका छन् ।
सो विद्यालयमा निर्माणाधीन भवनमा गुणस्तरहीन सामग्री प्रयोग भएको र आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेपछि भवन निर्माणको काम रोकिएको हो ।
देवाई गोनाही नगरपालिकाका अन्य विद्यालयको अवस्था समेत दयनीय रहेको र त्यसको सुधारका लागि नगरपालिकाले खासै ध्यान नदिएको नेकपा एमालेका जिल्ला उपाध्यक्ष तथा स्थानीय बासिन्दा समेत रहेका रुपेश पटेलको भनाइ रहेको छ । २०८० चैत ८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।