चन्द्रनिगाहपुर,३० साउन । रौतहट जिल्लाको प्रमुख व्यापारिक बजार चन्द्रपुरमा यतिबेला सार्वजनिक जमिनहरू धमाधम कब्जा हुने क्रम बढ्दै जान थालेको छ । सार्वजनिक जमिनका अलावा सडक पेटी समेत व्यापारीहरूले अतिक्रमण गरेर बटुवाहरुलाई बीच सडकबाट हिँड्न बाध्य बनाउँदा समेत चन्द्रपुर नगरपालिकाको ध्यान त्यसतर्फ जान सकेको छैन ।
सार्वजनिक सडक पेटी तथा सार्वजनिक जग्गाहरू सुकुम्बासीका नाममा धमाधम अतिक्रमण हुँदा समेत नगरपालिकाले खाली गराउन नसकेको भन्दै सर्वसाधारणले त्यसको चर्को आलोचना गर्दै आएका छन् ।
चन्द्रनिगापुर गौर सडक खण्डको चन्द्रनिगापुरदेखि चन्द्रनिगापुर बजारसम्मको चार लेन सडकको दायाँ बायाँ मान्छे हिँड्नका लागि बनाइएको सडक पेटी समेत स्थानीय व्यापारी तथा टाटा सुमो सञ्चालकहरुले काउन्टर राखेर कब्जा गरेका छन् । यस विषयमा तर एक्सप्रेस दैनिकले यसभन्दा अगाडि समेत समाचार प्रकाशन गरेको थियो । तर चन्द्रपुर नगरपालिकाको ध्यान त्यसतर्फ जान नसक्दा सर्वसाधारणहरु आफ्नो जिउ ज्यान नै जोखिममा पारेर बीच सडकबाट हिँड्न बाध्य भएका छन् । फुटपाथ व्यापारका नाममा व्यापारीहरूले चन्द्रपुर चोकको सडक नै अतिक्रमण गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् । नगरपालिकाले उचित कदम चाल्न नसकेका कारण यतिबेला चन्द्रनिगापुरको मुख्य चोक र चन्द्रनिगापुर गौर सडक खण्डमा दुर्घटनाको जोखिम बढ्दै जान थालेको स्थानीय बासिन्दा तथा नेपाली कांग्रेसका नगर सभापति मुकेश गिरीको भनाइ रहेको छ । यता चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको सार्वजनिक जग्गा समेत सुकुम्बासीका नाममा कब्जा गर्ने क्रम बढ्दै जान थालेको पाइएको छ ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा पर्ने बागमती सिँचाई आयोजनाको नहर समेत सुकुम्बासीको नाममा कब्जा भइसकेको छ । पछिल्लो समय सुकुम्बासीको नाममा चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित चाँदी फूलको ड्याम नै कब्जा भइसकेको छ । बाहिरी जिल्लाबाट आएका एक मुस्लिम समूहले चाँदी खोलाको ड्यामलाई अतिक्रमण गरी घर टहरा बनाएर बसोबास गरेको विषयमा समेत तराई एक्सप्रेसले पटकपटक समाचार प्रकाशन गर्दा समेत चन्द्रपुर नगरपालिकाको त्यसतर्फ ध्यान जान सकेको छैन ।
चन्द्रपुर नगरपालिकाका १० वटै वडाका विभिन्न स्थानमा रहेका सार्वजनिक जमिनहरू यतिबेला सुकुम्बासीको नाममा हुकुमबासीहरुले कब्जा गरेर घर टहरा बनाई बसोबास गर्दै आएका छन् । चन्द्रपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरूले यस्तो विषयलाई देखे पनि नदेखे जस्तो गरेर बसेका कारण सार्वजनिक जमिनहरू अतिक्रमणको चपेटामा परेको हो । नगर भरिका अतिक्रमित सार्वजनिक जमिनहरू तत्काल खाली गराउनुपर्ने चन्द्रनिगाहपुरका स्थानीय युवा अरुण लामाको भनाई रहेको छ ।
निर्वाचित जनप्रतिनिधिहरूले फेरि अर्को चुनावमा आफूहरूको भोट भाडिने डरले सुकुम्बासीका नाममा बसेको बस्ती हटाउनका लागि आनाकानी गरेको बुझिएको छ ।
चन्द्रपुर नगरपालिकाका खाली जमिनहरूमा यतिबेला जिल्ला बाहिरका मानिसहरू आएर कब्जा गर्ने क्रम तीव्र रुपमा बढ्दै जान थालेको छ । बागमती सिँचाइ आयोजनाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा पर्ने नहरमा रौतहट जिल्लाको विभिन्न स्थानबाट सुकुम्बासीका नाममा आएर घर टहरा बनाई बस्नेहरूका कारण नहरको छेउमा जमिन रहेका जग्गाधनी समेत यतिबेला आजित बनेका छन् । नहर कब्जा गरेर बसेकाहरूले नहरसँगै टाँसिएका जग्गा धनीहरूलाई आफ्नै खेतमा जानका लागि समेत रोक लगाउने गरेको गुनासो बढ्दै जान थालेको छ ।








