वीरगन्ज,२ जेठ । पर्साको ग्रामीण भेगबाट सशस्त्र प्रहरीले बुधबार भारतबाट भन्सार राजश्व छलेर ल्याइएको ठूलो परिमाणमा गँहु र चामलको कनिका बरामद गरेको छ ।
बिन्दवाासिनी गाँउपालिका वडा नम्बर ४ अमरपट्टी नाकास्थित चौकी अगाडिको खेतमा भण्डारण गरेर राखिएको १०६ बोरा गँहु र २८ बोरा चामलको कनिका बरामद गरेको हो ।
१०६ बोरामा रहेको ५३ क्वीन्टल गँहु र र २८ बोरामा रहेको ११ क्वीन्टल ६४ केजी चामलको कनिका बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार, तस्करहरुले भारतबाट भन्सार राजश्व छलेर ल्याएको गँहु र चामलको कनिकाको बोरा घरअगाडिको खेतमा जम्मा गरेर राखकै अवस्थामा बुधबार दिउँसो सशस्त्र प्रहरीले बरामद गरेको हो ।
स्रोतका अनुसार अमरपट्टी प्रहरी चौकीका सई सुनील पनेरूले उक्त समाग्री तस्करी गराउनलाई तयार गरेर खेतमा भण्डारण गराएका थिए । तर तस्करी हुन तयार रहेको सूचना पाएको सशस्त्र प्रहरीको टोलीले चौकी अगाडि कै खेतबाट बरामद गरेको स्रोतको बताउँछ ।
वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सा र सीमा सुरक्षा गुल्म अलौबाट खटिएको संयुक्त टोलिले उक्त गहुँ र चामलको कनिका बरामद गरेको सिंहले बताए ।
बरामद गँहु र चामलको कनिकाको बजार मूल्य २ लाख ३१ हजार २० रुपैयाँ मूल्यांकन गरेर आवश्यक कारबाहीका लागि बुधबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।








