रौतहट,५ जेठ । चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको गोपालकुटी माध्यमिक विद्यालयको सञ्चालक समितिका सदस्य सुकेन्द्र गोलेले राजीनामा दिएका छन् । सो विद्यालयको व्यवस्थापन समितिका अध्यक्षको मनोमानी बढ्दै गएको र सञ्चालक समितिका सदस्यहरूसँग कुनै पनि सरसल्लाह नगर्ने गरेको भन्दै सदस्य गोलेले राजीनामा दिएका हुन् । विद्यालयले सञ्चालन गरेको बसमा समेत आर्थिक हिनामिना गरेको र पुस्तक खरिदमा समेत मनोमानी गरेको, भवन निर्माण तथा पुरानो भवन भत्काउने काम समेत व्यवस्थापन समितिका अध्यक्ष आफैंले गरेको र अन्य सदस्यलाई कुनै जानकारी नदिएको विद्यालयमा आर्थिक पारदर्शिता हराउँदै गएको भन्दै सञ्चालक समिति सदस्य गोलेले आज राजीनामा दिएका हुन् ।

गोपाल कुटी माध्यमिक विद्यालय चन्द्रपुर १ मा संस्थागत रुपमा भ्रष्टाचार मौलाउँदै गएको अवस्थामा सो विद्यालयको सञ्चालक समितिको सदस्य जस्तो पदमा आफूले रहिरहन उचित नठानेको भन्दै राजीनामा पत्र बुझाएको गोलेले बताएका छन् ।

पछिल्लो समय चन्द्रपुर नगरपालिका वडा नम्बर १ बागमतीमा रहेको गोपालकुटी माध्यमिक विद्यालयमा संस्थागत रुपमै भ्रष्टाचार मौलाउँदै गएको समाचारहरु विभिन्न संचार माध्यमहरुले प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्दा समेत सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन ।