रौतहट, ९ असार – काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेको यात्रुबाहक बस रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परेको छ। दुर्घटनामा परी १० जना यात्रु घाइते भएका छन्।
जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरका अनुसार, बा.प्र.०१–००६ ख.५२१६ नम्बरको बस सोमबार बिहान ४:३० बजे अनियन्त्रित भई सडकको दक्षिणतर्फ ७ फिट तल खसेको थियो। बसमा २५ जना सवार थिए।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र ट्राफिक कार्यालय चन्द्रपुरको संयुक्त टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी नजिकको अस्पतालमा उपचारका लागि पठाइएको हो।
घाइतेहरूको विवरण यसप्रकार छ:
- रेखा देवी (४४), सीतामढी, बिहार, भारत
- जहदेवी झा (२२), सीतामढी, बिहार
- विसुकुमार पटेल (११), सीतामढी, बिहार
- महम्मद अमजल (२६), दरभंगा, बिहार
- मोहम्मद ओकिल, दरभंगा, बिहार
- नरगिस खातुन (३८), दरभंगा, बिहार
- आयस प्रतिक (२), नरगिस खातुनका छोरा
- अनुष्का निगम (२३), सिरेश्वरनाथ–१, धनुषा
- संतोषी ठाकुर (३५), जनकपुर
- पुनम ठाकुर (४३), जलेश्वर नगरपालिका–४
प्रहरीका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ र उनीहरूको चन्द्रपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
उता, दुर्घटनापछि बस चालक फरार रहेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रपुरले चालकको खोजी कार्य तीव्र पारिएको जनाएको छ।








