मधेश प्रदेशमा समयमै मनसुन नआएपछि खडेरीको समस्या गम्भीर बन्दै गएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष औसतभन्दा बढी वर्षाको पूर्वानुमान गरे पनि असारको तेस्रो साता सकिन लाग्दासमेत मधेशमा मनसुन प्रवेश गरेको छैन । खुलेको आकाश, चर्को घाम र उखरमाउलो गर्मीका कारण तत्काल पानी पर्ने सम्भावना पनि देखिएको छैन । वर्षा नहुँदा रौतहटलगायत मधेशका अधिकांश जिल्लामा धान रोपाइँ ठप्पजस्तै छ । कृषि निर्देशनालयका अनुसार मधेशका करिब ७५ प्रतिशत खेतहरूमा अझै धान रोप्न सकेको छैन । रोपाइँ गरिएको खेतमा पनि पर्याप्त चिस्यान नहुँदा बिरुवा पहेँलिँदै मर्न थालेका छन् । खडेरीको असर मधेशको उत्तरी भेगदेखि दक्षिणी सिमावर्ती गाउँसम्म फैलिएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–९ का किसान रामबाबु यादवले यस वर्ष अहिलेसम्म एक कट्ठा पनि रोपाइँ गर्न नसकेको बताउनुभयो । “गत वर्ष यति बेलासम्म आधा खेत रोपिसकेको थिएँ,” उहाँले भन्नुभयो, “अब त साउन लाग्न लागिसक्यो, खेत सुक्खा छन्, माटो चिरा परेको छ ।”
मधेश प्रदेश कृषि निर्देशनालयका बालि संरक्षण अधिकृत सुदीप चौधरीका अनुसार असारको तेस्रो साता सकिँदासमेत रौतहटमा जम्मा ३० प्रतिशत मात्र रोपाइँ भएको छ । सबैभन्दा बढी पर्सामा ६२ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ९.४१ प्रतिशत रोपाइँ भएको छ । अन्य जिल्लाहरूमा सर्लाहीमा ३०, सिरहामा २५, बारामा २१.७ र सप्तरीमा १० प्रतिशत मात्र रोपाइँ भएको उहाँले जानकारी दिनुभयो ।
“मधेश प्रदेशभर तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान खेती हुने गर्छ,” चौधरीले भन्नुभयो, “तर हालसम्म जम्मा २५ प्रतिशत अर्थात् ९३ हजार १६१.२५ हेक्टरमै रोपाइँ भएको छ ।” रौतहटकै गरुडा नगरपालिकास्थित किसान अशोक साहका अनुसार बोरिङको भरमा रोपिएको धान पनि पानी नपर्दा सुक्न थालेको छ । “पम्प सेट लगाएर धेरै खर्च गरेर रोपेको बिरुवा पानी नपाएर पहेँलो हुँदै मर्न थालेको छ,” उनले गुनासो गरे ।
वर्षा नभएर बढ्दो खडेरीले धान उत्पादनमा गम्भीर असर पर्ने निश्चित छ । किसानहरू बिचल्लीमा परेका छन् । सरकारले तत्काल राहत र दीर्घकालीन सिंचाइ रणनीति नल्याउने हो भने खाद्यान्न संकटसमेत निम्तिने खतरा देखिएको छ ।








