गौर,२६ साउन । भारतसँग सिमाना जोडिएका मधेश प्रदेशका आठवटै जिल्लामा अवैध बाटो हुँदै भारतीय बजारबाट मालसामान भित्र्याउने क्रम निरन्तर बढ्दो छ । सम्बन्धित निकाय आँखामै पट्टी बाँधेर बस्दा प्रदेश अहिले तस्करीको प्रमुख केन्द्र (हब) मा रूपान्तरण भइरहेको आरोप लागेको छ । यसले नेपाल सरकारको लक्षित राजश्व संकलनमसमेत प्रत्यक्ष असर पारेको छ।
पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका सीमा नाकाहरू तस्करहरूको लागि ‘स्वर्ग’ बनेका छन् । स्थानीयदेखि प्रदेशस्तरका प्रहरी–प्रशासकीय अधिकारीसम्मको साँठगाँठमा तस्करीको कारोबार खुलेआम भइरहेको बताइन्छ ।
अहिले भारतबाट ठूलो परिमाणमा रासायनिक मल मोटरसाइकलमार्फत् भित्र्याउने कार्य युद्धस्तरमा भइरहेको छ । हुलाकी सडकस्थित लगडा चोकदेखि हरनैया हुँदै रौतहटको सोनरनिया, मौलापुर हुँदै विभिन्न स्थानमा सामान लैजाने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उपस्थिति नदेखिनु अर्को आश्चर्य बनेको छ । स्रोतका अनुसार बिहानीपख तस्करी हुने भएकाले सो समयमा सुरक्षाकर्मीले मौनता साँध्नु अर्को रोचक पक्ष छ ।
पर्साको इलाका प्रहरी कार्यालय बिर्ताका वरिष्ठ सई लोकेन्द्र पण्डित घुमुवा इञ्चार्जको रूपमा सक्रिय रहेको स्रोतको दाबी छ । उनका निर्देशनमा प्रहरी हवलदार विवेक सिंह, निरज सिंह, अनुरुद्ध यादव र अर्जुन साह परिचालित हुने गरेका छन् ।
प्रहरीले प्रमुख तस्करको रुपमा मुकेश गुप्ता, शम्भु दास, विनोद दास, हरिन्दर पटेल, जयलाल यादव, वनारसी ठाकुर, सन्तोष सिंह, ललिता देवी, गुडु शर्मा, मदन गुप्ता, अरुण साह, गौतम चौरसियाको पहिचान गरिसकेको बताइन्छ । त्यसैगरी पहिचान भएका कृष्णा चौरसिया, रविन्द्र साह, मिश्रीलाल साह, संजय साह, गुडु साह, महमद अली, लक्ष्मण चौधरी (गाँजा), महिन्द्र चौधरी (गाँजा), सवाश साह वनिया, किशोरी गुप्ता, शशीकान्त (कबाड), सन्दीप, जितेन्द्र, जटाधारीलगायतमाथि कुनै कारबाही गरेको देखिँदैन ।
बाराको कचोर्वा, सिम्रौनगढ, इटवाल खजानी, वैरिया, कवही दरबार, मटिअर्वा, बसन्तपुर लगायतका नाकाबाट निरन्तर तस्करी हुँदा पनि प्रहरीले मौनता साँधेको छ । लक्ष्मीपुर बेलविछवा, भन्सार, महादेवपटी, बन्जरहा, औरैया, मठिया, महुलिया, राजपुर, मोतीपुर, बंकुल, नरकटिया लगायतका नाकामा पनि निर्वाध तस्करी भइरहेको पाइन्छ ।
गौर नाका हुँदै रुपेश दास, रौशन, अमरजित, ब्रम्हदेव साह, कान्छा, नथुनी लगायत दर्जनौं तस्कर सक्रिय छन्। गोरखकाली, त्रिभुवन नगर, भेलही, पर्सा, सग्राम्पुर, नारायणपुर, सिम्रा फेनहारा, भाँडसर, मधुवनी, बारा उधोरण, बहादुरपुर, अर्नाहा, बलरा, छनकी नाकाबाट दैनिक लाखौंको सामान भित्रिने गरेको छ । स्रोतका अनुसार प्रहरी असई रामप्रवेश यादवले तस्करी लाइन सञ्चालन गरिरहेका छन् ।
महोत्तरीको रघुनाथपुर, इटहर्वा, शम्सी, हल्खोरी, नैनी, गौशाला, बर्दिबास, मटिहानी, जलेश्वर भन्सारलगायतका युनिटमा तस्करी खुलेआम छ । प्रहरी असई सञ्जय पासवान र हवलदार धर्मेन्द्र यादव, राजेश यादवको मिलेमतोमा कारोबार फस्टाएको बताइएको छ ।








