मधेश प्रदेशमा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या हरेक वर्ष बढ्दो क्रममा छ । धान खेतीका बेला पानी अभाव भएपछि खेतमा मोटर जडान गरेर सिँचाइ गर्ने क्रममा किसानहरू अकालमै ज्यान गुमाइरहेका छन् । साउन १८ गते रौतहटको ईशनाथ नगरपालिका–८, मंसरी टोलका ५५ वर्षीय शेख जफिर धान खेतमै करेन्ट लागेर ज्यान गुमाए । त्यस्तै साउन ८ गते मौलापुर नगरपालिका–७ निवासी तथा नगर प्रवक्ता चन्द्रेश्वर बैठा खेतमा मोटर चलाउने क्रममा करेन्टले प्राण लियो । सोही समयमा माधवनारायण–४ का ४० वर्षीय रामबाबु मुखिया र कटहरिया–२, जमुनियाका ५२ वर्षीय मोक्तार देवान पनि खेतमै करेन्टले मृत्युको मुखमा परे ।
यी प्रतिनिधिमूलक उदाहरणमात्र हुन् । रौतहटसहित मधेशका आठै जिल्लामा खेतमा मोटर चलाउने क्रममा किसानहरू दिनदिनै करेन्टको चपेटामा परिरहेका छन् ।
साउन २३ गते धनुषाधाम–३ का शिवजी मण्डल र सप्तरीको रूपनी–३ का शम्भुकुमार इसर खेतमै करेन्ट लागेर ज्यान गुमाए । साउन १४ गते सिराहा नगरपालिका–१० की ४५ वर्षीया सविता कामती आफ्नै घरमा बत्ती बाल्दा करेन्टले प्राण लियो ।
साउन ९ गते सप्तरीको रूपनी–२, पौवा टोलमा दम्पत्ति बालेश्वर खङ्ग (४७) र रामकुमारी खङ्ग (४५) ले सिटी रिक्सा चार्ज गर्ने क्रममा ज्यान गुमाए भने साउन ३ गते अग्निसाइर कृष्णासवरन–४ की ७० वर्षीया उर्मीलादेवी यादव खेतमै पानी पटाउने क्रममा करेन्टले प्राण गुमाइन् ।
यस्तै, साउन २ गते सर्लाही, लालबन्दी–१ मा ट्रक सहचालक रौतहट वृन्दावन–७ का दिनेश पासवान करेन्टको चपेटामा परी मृत्यु भएको थियो ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्षमा करेन्ट लागेर ३२४ जनाले ज्यान गुमाएका छन् । २०७९÷८० मा १०७,२०८०÷८१ मा ९८,२०८१÷८२ मा ११९ जनाले ज्यान गुमाएका थिए । मृतकमध्ये सबैभन्दा बढी किसान रहेको प्रहरी अनुसन्धानले देखाएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार असुरक्षित तार, अर्थिङ नगरेको पोल, अव्यवस्थित जडान र लापरबाहीकै कारण करेन्टले ज्यान लिने घटना बढेका छन् ।








